उदयपुर। पूर्व–पश्चिम मदन भण्डारी राजमार्गमा हुने सवारी चापलाई ध्यनमा राख्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क बिहीबारबाट सञ्चालनमा ल्याएको छ। उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं. १३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्धघाटन गरेसँगै सञ्चालनमा आएको हो।
काठमाडौंको रात्रिकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका छन्।यसैगरी खोटाङ जिल्लाको यातायात सेवा पनि सोही ठाउँबाट सञ्चालन हुनेछ। जिल्लाको विभिन्न ग्रामिण भेगका लागि दैनिक ३ दर्जन बढी सवारी साधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जानकारी दिएको छ। हाल सो ठाउँमा निर्माण गरिएका सटरहरु टिकट काउन्टरका लागि प्रयोग गरिनेछन्। काउन्टर अपुग भएको खण्डमा नगरपालिकाले टिकट घर निर्माण गर्ने जनाएको छ।
सो वसपार्क पूर्वपश्चिम मदनभण्डारी राजमार्गसँगै जोडिएकाले सो राजमार्ग पूर्ण रुपमा सञ्चालन भएपछि पार्किङ तथा टिकट बुकिङका लागि सहज हुने भएको छ। सो स्थानमा पार्किङस्थल, गाडी धुने ठाउँ, यात्रु प्रतिक्षालय, चर्पी, बाथरुम जस्ता संरचनाहरु व्यवस्थित ढंगले निर्माण गरिने जनाइएको छ। यसैगरी बसपार्कसँगै मेयर्स पार्क निर्माण गर्ने योजना पनि रहेको छ। मेयर्सपार्कभित्र डिजिटल नगर सूचनाबोर्ड, पानीका फोहोरा, आरामदायी र मनोरम वातावरणसमेत निर्माण गरिने मेयर चौधरीले जानकारी दिएका छन्।
सदरमुकाम गाईघाटमा सवारी साधनको चाँप र दुर्घटना न्यूनिकरणलाई मध्येनजर गर्दै नयाँ वसपार्क सञ्चालनमा ल्याएको हो। नयाँ वसपार्क सञ्चालनमा आएपछि सर्वसाधारण यात्रुलाई सहजवातावरण सिर्जना भएको छ। बसपार्क सञ्चालनको लागि पटक–पटक गरेको माग बल्ल पूरा भएको एक स्थानीयले जानकारी दिएका छन्। यसलाई थप व्यवस्थित बनाउन आफूहरुको सहयोग रहने उनेको भनाइ छ।
यसैगरी बसपार्क सञ्चालनप्रति उत्साहित भएका सवारी चालक तथा यातायात ब्यवसायीहरुले पार्किङ तथा गाडी धुने ठाउँ, खाना, खाजा खाने ठाउँको ब्यवस्थापनमा भने छिटो ध्यान पुर्याउन आग्रह गरेका छन्। यी सम्पुर्ण सेवाहरुको व्यवस्था भएपछिमात्र यातायात सेवा प्रभावकारी हुने उनिहरुको भनाइ रहेको छ।