भोजपुर। भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवन निर्माण जग्गा विवादका कारण अझै अघि बढ्न सकेको छैन। जग्गा विवादका कारण गाउँपालिकाको भवन निर्माण अघि बढ्न नसकेको सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको हो।
भवनको प्रारम्भिक प्राविधिक सर्भे भइसकेको छ भने भवन निर्माण गर्न संघीय सरकारले बजेट समेत छुट्याएको छ । तर जग्गा विवादका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि प्रक्रिया अघि बढिसकेको अवस्थामा निवर्तमान अध्यक्षदेखि केही स्थानीय व्यक्ति त्यसको विरोध गर्दै आएका छन् । जसको कारण जग्गाको टुंगो लागि सक्दा पनि भवन निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन ।
हालको मुकाम अरुण गाउँपालिका–३ को प्याउलीबजारबाट डेढ किलोमीटरको दुरीमा पर्ने मरेङ्डाँडामा पालिकाको नयाँ प्रशासकीय भवन निर्माण हुने निर्णय भइसकेको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए । २०७९ माघ ६ गते गाउँ कार्यपालिकाको बैठकमा प्रशासकीय भवन निर्माणबारे मतदान मार्फत् बहुमतले निर्णय गरेको थियो ।
भवन निर्माणका लागि मरेङ्डाँडामा स्थानीयले २१ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । सोही स्थानमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको प्राविधिक सहयोगमा वातावरणीय मूल्यांकन (डिपीआर) समेत सकिएको छ ।
डिपीआर लगायत प्रारम्भिक प्रक्रियाका लागि एक करोड बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि विभिन्न ६ स्थानमा स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउने भनेकोमा कार्यपालिका बैठकले मरेङ्डाँडालाई सबैभन्दा उपयुक्त ठहर गरेको थियो ।
कार्यपालिका बैठकले पारित गरेको स्थानलाई सबैले स्वीकार गर्नु पर्नेमा स्वार्थगत भावनाले विवाद निम्ल्याइएको अध्यक्ष खत्रीको भनाइ छ।
उता, अधिकांशलाई पायक पर्ने स्थानबाट अन्यत्र स्थानान्तरण गर्न लागिएको भन्दै निवर्तमान अध्यक्ष गजेन्द्रबहादुर कार्की विरोधमा छन् ।