म्याग्दी। गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको बताएका छन् । धवलागिरि गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शिवाङमा समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जुग्जालीले दरवाङ–ताकम–मुना जोड्ने सडक कालोपत्रे गर्ने योजना यसै वर्ष सुरु हुने जानकारी गराए ।
‘दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नतिको अन्तिम चरणमा छ । धारापानीदेखि ताकम हुँदै शिवाङसम्मको सडक कालोपत्रे गर्न यसै वर्ष बहुवर्षीय ठेक्का लगाउन २५ करोड बजेटको स्रोत सुनिश्चितता भएको छ,’ उनले भने, ‘शिवाङदेखि मच्छिम हुँदै मुनासम्मको सडक कालोपत्रे गर्न अर्को प्याकेजको आयोजना सुरु गर्छौं । मुना मरेनी हुँदै ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित बनाउन पहल गरेका छौं ।’
बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडकमध्ये पहाडी लोकमार्गको बाग्लुङ खण्डभन्दा ६५ किलोमिटर छोटो हुने भएकाले वैकल्पिक सडक बनाउन पहल गरिएको मन्त्री जुग्जालीले बताए । धवलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्ने संघीय, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ६ करोडको आयोजनाको ठेक्का आह्वान भइसकेको जानकारी दिए ।
लमसुङस्थित दरखोलामा मोटरेबल पुल बनाउन एक करोड ५० लाख विनियोजन भएको र यसै वर्ष ठेक्का लाग्ने बताए । जलविद्युत आयोजनालाई निर्माण सम्पन्न, धौलागिरि र गुर्जा हिमाललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर धवलागिरि गाउँपालिकालाई समृद्ध बनाउन सकिने मन्त्री जुग्जालीले विश्वास व्यक्त गरे । संघीयताका कारण म्याग्दी जस्तो विकट र दुर्गम जिल्ला तथा भूगोलमा विकास तथा सेवामा पहुँच बढेको मन्त्री जुग्जालीले बताए । स्थानीय तहले बजारको सेवा विस्तार हुँदा ग्रामीण भेगका जनताको आयस्तर उकास्नमा पनि मद्दत गरेको उल्लेख गरे ।
श्रमशिविरबाट पदमार्ग, चौतारी र धारा निर्माण म्याग्दी ९कास०– म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा साढे दुई महिनाको श्रमशिविरबाट पक्की पदमार्ग, चौतारी र धारा निर्माण गरिएको छ । राखु भगवतीको विभिन्न बस्तीमा दिवंगत भएका व्यक्तिलाई कालिगण्डकी नदीको घाटसम्म पुर्याउने सडक जीर्ण भएपछि युवाहरूको नेतृत्व र समुदायको जनश्रमदान र आर्थिक सहयोगबाट सुविधायुक्त पदमार्ग निर्माण गरिएको हो ।
समुदायको श्रमदान र प्राप्त आर्थिक सहयोगबाट माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटो बाटोको स्वरुप अहिले फेरिएको छ । बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर करिब डेढ किलोमिटर पदमार्ग, विभिन्न ठाउँमा चौतारी र धारा निर्माण गरिएको पदमार्ग निर्माण अभियानका आर्थिक संयोजक एवम् माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताए । कारोबार दैनिकबाट