गोरखा। गोरखाको पालुङटार नगरपालिका–८ अधिकारी टोलमा स्वास्थ्य चौकीको भवन निर्माणका लागि शिलान्यास गरिएको छ। ‘भूकम्पपश्चात स्वास्थ्य चौकी पुन:निर्माण’ आयोजना अन्तर्गत यहाँ स्वास्थ्य चौकी निर्माणका लागि मंगलबार शिलान्यास गरिएको हो।
२०७२ सालको भूकम्पले यहाँको स्वास्थ्य चौकीको भवन चर्काएपछि सोही जीर्ण भवनबाट वडाले वडाबासीलाई स्वास्थ्य सेवा दिँदै आएको थियो। भूकम्पले क्षति पुर्याएको ६ वर्षपछि भर्खर वडामा स्वास्थ्य चौकी पुन:निर्माणको काम थालिएको छ।
पुन:निर्माण प्राधिकरणको पहलमा भारत सरकारको आर्थिक अनुदानमा यहाँ स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो। स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय मैयाँ रावलले एक रोपनी एक आना जग्गा दान गरेकी छन्।
एक करोड ९९ लाख लगानीको स्वास्थ्य चौकी निर्माण गर्न खानी निर्माण सेवाले ठेक्का लिएको छ। २०७९ माग १७ गतेसम्ममा काम सक्ने गरी २०७८ साल असार १६ गते सम्झौता भएको खानी निर्माण सेवाका साइड इन्जिनियर विजय न्यौपानेले जानकारी दिए।
इन्जिनियर न्यौपानेले कुनै बाधा नआए सम्झौता गरेको समय अघि नै निर्माण सक्ने लक्ष्य रहेको बताए। मानिसको स्वास्थ्यको विषय अत्यन्तै संवेदनशील भएको भन्दै जतिसक्दो चाँडो भवन निर्माण सक्ने गरी काम अघि बढाउने उनको भनाइ छ।
स्वास्थ्य चौकी निर्माण भएपछि धेरै मानिस यसबाट लाभान्वित हुने पालुङटार–८ का वडाध्यक्ष शंकर राज कँडेलले बताए। उनले भने, ‘स्वास्थ्य चौकी यस वडामा अत्यन्तै आवश्यक थियो। पहिले नै बन्नु पर्नेमा धेरै ढिलो शुरु भयो। पुरानो र जीर्ण बनेको स्वास्थ्य चौकीबाट सेवा पुर्याउन मुश्किल हुन थालेको थियो। नयाँ भवन बन्ने भएपछि अब धेरै नै सहज हुनेछ।’
वडाध्यक्ष कँडेलले पहिलेको तुलनामा जनसंख्या बढ्दै गएको र बिरामीको संख्या पनि त्यहि अनुसार बढ्न थालेकाले स्वास्थ्य चौकी अति जरुरी रहेको बताए । उनले भवन निर्माण सकिनासाथ वडाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गर्ने समेत बताए।