दाङ। सघन सहरी तथा भवन निर्माण आयोजना दाङले करिब पाँच वर्षको अवधिमा ४५ किलोमिटर सडक कालोपत्रे गरेको छ । घोराही उप महानगरपालिका र तुलसीपुर उप महानगरपालिकामा गरेर ४५ किलोमिटर सडक कालोपत्रे, करिब ५७ किलोमिटर फुटपाथ र ५७.१२ किलोमिटर नाला निर्माण भएको हो ।
आयोजना सुरु भएदेखि हालसम्म ठूला प्रोजेक्टमार्फत करिब ४५ किलोमिटर निर्माण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिए । ससाना काम पनि भइरहेको आयोजनाले जनाएको छ । ससानाको समेत गरी करिब ४८ किलोमिटर कालोपत्रे भएको बताइएको छ । यसका लागि एक अर्ब ६३ करोड ६ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । जिल्लामा आयोजना २०७५ भदौबाट सुरु भएको हो। आयोजनाले सडक कालोपत्रेसँंगै फुटपाथसहित नाला निर्माण गरेको हो ।
ठूला आयोजना तीनवटा प्याकेजबाट ३७.१२ किलोमिटर कालोपत्रे गरिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख चौधरीले जानकारी बताए । जसमा फुटपाथ र नालासमेत रहेको छ । यसरी निर्माण गरिएको सडक सामान्य कालोपत्रेभन्दा गुणस्तरीय कालोपत्रे रहेको उनको भनाइ छ । प्याकेज नम्बर १ अन्तर्गत १४.३ किलोमिटर सडक कालोपत्रे भएको छ । जुन नारायणपुर–नारेवाङ र सर्रा सौडियार सडक रहेको छ ।
जसमा २८.६ किलोमिटर पक्की नाला र फुटपाथसमेत निर्माण गरिएको छ । प्याजेज १ का लागि ६३ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । प्याजेज २ अन्तर्गत ९।२ किलोमिटर सडक कालोपत्रे भएको छ । जुन घोराही बाँसबोट हापुर हुँदै रक्षाचौर सडक खण्ड रहेको आयोजना प्रमुख चौधरीले बताए । प्याकेज २ का लागि १७ करोड १८ लाख खर्च भएको छ ।
प्याकेज ३ अन्तर्गत १३.६ किलोमिटर सडक कालोपत्रे गरिएको छ । जसमा २५।३ किलोमिटरमा फुटपाथसहित पक्की नाला निर्माण गरिएको आयोजनाले जनाएको छ । प्याकेज ३ अन्तर्गत घोराही ल्याण्डफिल साइट हुँदै बाहुन डाँडा, झिगौरा हुँदै स्वर्गद्वारी आश्रम, रतनपुर चोकबाट भेटेनरी अस्पताल, प्रहरी बोर्डिङदेखि खिरटिया, मालपोत कार्यालयदेखि क्याम्पस तलसम्म र रामपुरको बालिम खोलादेखि सिमलतारासम्मको सडक रहेको आयोजना प्रमुख चौधरीले बताए । प्याकेज ३ का लागि ६७ करोड ५१ लाख रुपैयाँ खर्च भएको छ । यी ठूला योजनाको काम सकिसकेको प्रमुख चौधरीले बताए ।
त्यसैगरी पर्सेनी सडक खाद्रे खण्डअन्तर्गत १.५३ किलोमिटर कालोपत्रे गरिएको छ । जसमा तीन करोड ५५ हजार रुपैयाँ खर्च भएको छ । नारायणपुर, मर्फा सडक खण्डअन्तर्गत २.६ किलोमिटर कालोपत्रे गरिएको छ । जसमा सात करोड पाँच लाख रुपैयाँ खर्च भएको छ । तुलसीपुरको टरीगाउँ गोलौरा सडक खण्डअन्तर्गत १.९५ किलोमिटर कालोपत्रे गरिएको छ । चार करोड चार लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । अन्य स्थानमा पनि ससाना काम भएको आयोजनाले जनाएको छ ।
‘भौगोलिक स्थानअनुसार फुटपाथसहितको नाला निर्माण गरिएको छ,’ आयोजना प्रमुख चौधरीले भने । आयोजनाले निर्माण गरेका सडक अन्य सडकभन्दा फरक रहेको स्थानीय बासिन्दाले बताएका छन् । यसले नागरिकलाई सहजता भएको छ । सहरी सघन मार्गको मापदण्डअनुसार आफूहरूले सडक निर्माण गरेको आयोजनाका प्रमुख चौधरीले बताए । ‘आयोजनामार्फत निर्माण गरिएका सडक सामान्य कालोपत्रेभन्दा फरक गुणस्तरीय रहेका छन्,’ उनले भने । त्यसैले आफूहरूले निर्माण गरेका सडक अन्य सडकभन्दा फरक रहेको उनको दाबी छ । कारोबार दैनिकबाट