काठमाडौं। भृकुटीमण्डपमा आगामी बिहीबारदेखि घरजग्गा मेला हुने भएको हो । भृकुटीमण्डपमा आगामी पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेलाको आयोजना हुने भएको हो।
मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ।
मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने छ ।
अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने आयोजकको भनाइ छ।
यस वर्ष मेलाबाट दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखिएको छ।
कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला सुरु हुनुले थप सहजता थप्ने आयोजकको विश्वास छ।