जुम्ला। पातारासी गाउँपालिका–४ स्थित लुम गाउँमा करिब दुई महिनाअघि भत्किएको काठे पुल अझै निर्माण हुन सकेको छैन । भत्किएकै भोलिपल्ट पालिकाले अनुगमन गरी पुनर्निर्माणका लागि पाँच लाख बजेटसमेत छुट्याइसकेको थियो । तर स्थानीयकै अवरोध र आपसी विवादले पुल निर्माणमा ढिलाइ भएको हो ।
पुल भत्किएपछि पातारासीको उपल्लो क्षेत्र वडा नंं. १, २ र ३ का तल्मी, परे, छुमचौर, गडीगाउँ, हुरी महरीलगायतका दर्जनौ गाउँ हजारौ नागरिकको आवतजावतमा समस्या भएको छ । सामान ढुवानी रोकिनुका साथै जटिल विरामी, सुत्केरीलाई समेत सदरमुकाम ल्याउन रोकिएको छ भने स्कुले बालबालिका समेत जोखिम मोल्दै आउजाउ गरिरहेका छन् ।
स्थानीय नागरिक पिठ्यँुमा भारी बोकेर जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । दैनिक क्विइन्टलका हिसाबले बजारमा आउने पातारासीको आलुसमेत पुल भत्किएपछि गाउँमै थन्किएको छ । तत्तकालै पुल निर्माण नभएको खण्डमा जुनसुकै बेला कुनै पनि घटना घट्ने जोखिम हुँदाहुँदै पनि स्थानीयकै अवरोधले पुल निर्माणले गति लिन नसेकेको बुझिएको छ । तत्काल पुल निर्माणका लागि गाउँपालिकाले पाँच लाख विनियोजन गरेको छ ।
पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया भन्छिन्, ‘सेवा भाव र आफ्नै लागि सोच्ने हो भने उक्त पुल श्रमदानबाटै २।३ दिनमै बन्न सक्छ । तर केही बजेट छुटाउँदा सहज हुन्छ भनेर पाँच लाख विनियोजन गर्यौं । काठ काटेर पनि सकिएको छ । तर पुल निर्माणमा लुम गाउँका सबैले काम गर्न पाउनु पर्छ भन्दै अवरोध गरिरहेका छन् ।’
पालिकाले थप बजेट दिनुपर्ने र लुमगाउँका करिब चार सय घरधुरीले नै काम पाउनु पर्ने अडान स्थानीयको छ । तर कामको प्रकृति हेर्दा गाउँका २५–३० युवा जुटेमा २÷३ दिनमै पुल बन्ने देखिन्छ । काठ काटेर विनियोजन गरिएको पाँच लाख सकिएको छ । निर्माणका लागि थप बजेट दिनुपर्ने स्थानीयको माग छ ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले स्थानीयमा चेतनाको कमी, निस्वार्थ भावना नहुनु र एक अर्काको उस्काहटमा लाग्दा पुल निर्माणमा विलम्ब भएको बताए । हामीले सुरुमै बजेट दिइसकेका थियौं । स्थानीय आपसमा नमिल्दा, सबैले काम पाउनु पर्ने अडान राख्दा समस्या भयो । उनले भने, ‘एउटा काठे पुल बनाउँदा पुरै गाउँलाई रोजगारी दिन मिल्ने बजेट छुट्याउन सकिँदैन । सीमित स्रोत हुन्छ । सहयोगी भावनाले गरे निःशुल्कै हुने काम हो । निर्माणका लागि थप बजेट चाहियो भन्ने माग आएको छ । निर्माणपछि कति खर्च आउँछ सोहीनुसार बजेट व्यवस्थापन गर्ने कुरो भएको छ । अब २र३ दिनमै पुल निर्माण हुन्छ ।’
गाउँगाउँमा सकारात्मक सोच विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने सोचमा रहेको अध्यक्ष बोहोराले उल्लेख गरे । पक्की पुल निर्माण नभएसम्म वर्षेनी समस्या निम्तिरहने भएकाले पक्की पुल निर्माण प्रक्रियालाई टुंगोमा पुर्याउन लागिपरेको समेत बताए ।
उता काम हामीले पनि पाउनु पर्छ भन्दै निर्माणमा अवरोध गर्ने र यता स्थानीय सरकारले पुल निर्माण गर्न नसकेको, स्थानीय जोखिममा रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना गर्ने समेत गरिरहेका छन् । स्थानीयले काठ काटेर सकिसकेका छन् । अब एकदिनको काम मात्रै बाँकी छ । तर सबैले काम पाउनु पर्ने, ज्याला पाउनु पर्ने मागले काम अघि बढ्न नसकेको युवा गोकर्ण कठायतले बताए । सांसद ज्ञानेन्द्र शाहीका प्रमुख स्वकीयसमेत रहेका कठायतले प्रत्यक्षस्थलमै पुगेर पुल निर्माण प्रक्रिया रोक्नु हुँदैन भन्दा स्थानीयले आक्रोशित भएको गुनासो गरे ।
उनले भने, ‘पुल निर्माणमा ढिलाइ भएपछि बुझ्न जाँदा लुम गाउँका सबै नागरिकले काम पाउनु पर्छ भन्नेमा आपसी कुरो नमिल्दा ढिला भएको रैछ । सबैले भन्दा पनि केही युवा जुटेर गर्दा छिटो होला भन्ने सुझाव दिँदा पनि बुढापाका,महिला युवा सबै कहाँ त्यस्तो हुन्छ पालिकाले थप बजेट दिनुपर्छ र सबैले काम गर्न पाउनु पर्छ भन्ने अडान गर्छन् ।’ कारोबार दैनिकबाट