काठमाडौं। म्याग्दीका पर्यटकीयस्थलमा पछिल्लो समय धमाधम पूर्वाधार निर्माण भइरहेको छ। पर्यटकीयस्थलको प्रचारप्रसारले तीव्रता पाएसँगै पर्यटक आगमन पनि बढ्दै गएको छ। बेनी नगरपालिकाको ऐतिहासिक ज्यामरुककोट, पुलाचौरपछै र सिङ्गा तातोपानी, मालिका गाउँपालिकाको देविस्थान, मङ्गला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरालगायत पर्यटकीयस्थलमा पूर्वाधार निर्माण भइरहेको छ। यसैगरी पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकास भएको मालिका गाउँपालिका–५ देवीस्थानस्थित गाईखर्क ताल पुग्ने सडक निर्माण भएको छ।
वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित रु २ लाख र स्थानीयवासीको रु ५० हजार बराबरको श्रमदानमा देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्म ७५० मिटर सडक निर्माण गरिएको हो। पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको सो तालको पर्यटन प्रवद्र्धन गर्न मोटरबाटो निर्माण गरिएको गाउँपालिकाको वडाध्यक्षले जानकारी दिएका छन्।
यसैगरी ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयले बजेट विनियोजन गरी मन्दिर निर्माण थालेको छ। उक्त गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको छ। त्यस्तै आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुई होमस्टे सञ्चालन गरिएको छ। पर्यटकको आकर्षण बढाउने उद्देश्यले पूर्वाधार निर्माणको कार्यलाई जोड दिइएको जनाइएको छ।
बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिकस्थल खड्गभवानी कोत परिसरलाई पनि पर्यटकीयस्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन्। सो क्षेत्रमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको रु १४ लाख ९९ हजार तथा उपभोक्ताको रु ३ लाख ६५ हजार बराबारको श्रमदानबाट पदमार्ग निर्माण गरिएको छ। उक्त पदमार्ग निर्माण पश्चात कोतमन्दिर पुग्न सजिलो भएको छ।
चालू आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २५० मिटर, गतवर्ष पर्यटन बोर्डको बजेटबाट ५६ मिटर र बेनी नगरपालिकाको बजेटमा ७६ मिटर पदमार्ग निर्माण गरिएको थियो। यसैगरी ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको छ। मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनहरुलाई गलेश्वरहुँदै ज्यामरुककोट र त्यहाँदेखि बागलुङको पञ्चकोट पुर्याउन सके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने जनाइएको छ।