काठमाडौं। निर्माण पुरा भएर हस्तान्तरण गरेको पाँच वर्ष बितिसक्दा पनि नेपालतर्फको एक किलोमिटर सर्भिस लेन हालसम्म पुरा भएको छैन । कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले २०७५ साल माघ १४ मा १०.३९ किलोमिटर सडक निर्माण गरी हस्तान्तरण गरेको पाँच वर्ष वितिसक्दा पनि नेपाल सरकारले निर्माण गरेको करिब एक किलोमिटर सर्भिस लेन हालसम्म पनि अधुरै रहेको छ ।
कलंकी–कोटेश्वर सडक खण्डअन्तर्गत बल्खु जनप्रशासनदेखि कलंकी खसी बजारसम्मको करिब एक किलोमिटर सर्भिस लेन नेपाल सरकारले हालसम्म निर्माण पुरा गर्न सकेको छैन । शुभकामना निर्माण सेवालाई २०७८ पुस ५ गते १८ महिनाको समय सीमा राखेर चार करोड रुपैयाँमा ठेक्कामा दिइएको थियो ।
काठमाडौं चक्रपथ सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार परीक्षा नियन्त्रण कार्यालयदेखि कलंकी खसिबजारमा निर्माणको क्रममा नै पहिरो खस्ने र सपोर्टको लागि लगाएको वाल खस्ने भएसँगै निर्माण पुरा हुन नसकेको हो। उनले भने,‘शुभकामना निर्माण सेवाले निर्माणमा ढिलाइ गरेकाले ठेक्का तोड्ने क्रममा रहेको छ । चाडैँ बोलपत्र आह्वान गरेर निर्माणको जिम्मा दिने छौं ।’ तीन सय मिटर ठेक्काको जिम्मा पाएको शुभकामना निर्माण सेवाले काम पुरा नगर्दा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको छ ।
निर्माण कम्पनीले एक करोड ४० लाख रुपैयाँको काम मात्र पुरा गरेको छ । अन्य बाँकी काम पूरा गर्नेतर्फ निर्माण कम्पनी जिम्मेवार नदेखिएकाले ठेक्का तोड्ने निष्कर्षमा आयोजना पुगेको हो । सर्भिस लेन निर्माणको लागि सो खण्ड भिरालो रहेको छ । भिरालो भएकाले त्यहाँ भएका घरहरुमा माटो बग्ने समस्या आउँदा स्थानीयले मुद्धा दायर गरेका थिए । साइड किल्यर नहुँनु, परीक्षा नियन्त्रण कार्यालयसँगको साइडमा भएको वाल हटाउनमा समस्या हुँदा निर्माण कार्यले गति लिन नसेको आयोजना प्रमुख ओझाको भनाइ छ ।
विगतमा आयोजनाले खण्ड–खण्ड गरेर ठेक्का लगाएको थियो । आगामी दिनमा भने निर्माण गर्न बाँकी सर्भिस लेन सबैको ठेक्का आह्वान गर्ने तयारी आयोजनाले गरेको छ । ओझाले भने,‘बाँकी सबैको ठेक्का आह्वान गर्दा लागत बढ्ने बताए । पुनस्डिजाइन पुरा भएको तर स्वीकृत भने गर्न बाँकी रहेको छ ।’ डिजाइन स्वीकृत भएपछि ठेक्का आह्वान गरेर निर्माण कार्य अगाडि बढाउने आयोजनाले जनाएको छ ।
चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर सडकको ८ लेन मात्र सरकारलाई हस्तान्तरण गरेको थियो । चीन सरकारको पाँच अर्ब अनुदान सहयोगमा कोटेश्वर–कलंकी सडक विस्तार भएको थियो । सरकारले २०७० सालको भदौ १६ गते २०७३ सालको पुस मसान्तसम्म निर्माण सक्ने गरी चिनियाँ कम्पनी सांघाइ कन्सट्रक्सनलाई १०.३९ किलोमिटर लामो कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा दिएको थियो ।
सन् १९७७ मा चीनकै सहयोगमा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । चीन पक्षबाट हुनुपर्ने प्राविधिक तथा आर्थिक काम सम्पन्न भइसकेको भए पनि नेपालतर्फबाट निर्माण हुने दायाँ र बायाँ ६र६ मिटरको सर्भिस निर्माण पुरा भएको छैन । चीनको सांघाइ कन्सट्रक्सन ग्रुपले २०७० सालदेखि विस्तारको कामअघि बढाएको थियो । २०७३ मागसम्म विस्तार सडक विस्तार गर्ने समयसप्मा भएपनि २०७५ को माघमा पुरा गरेको थियो । कारोबार दैनिकबाट