रसुवा। निर्माण सम्पन्न गर्ने समय आधा सकिँदासम्म पनि स्याफ्रुबेंसी–रसुवागढी सडक शुरु अझै हुन सकेको छैन। चीन सरकारले निर्माण गर्ने उक्त सडक कोभिडका कारण निर्माण शुरु हुन नसकेको हो।
राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी योजनाको अन्तिम खण्डका रुपमा सो खण्ड रहेको छ। उक्त सडक सन् २०१८ अगस्टमा ४० महीनामा सम्पन्न गर्ने चीन सरकारसँग सहमति भएको थियो। उनीहरुसँग सम्पर्क भइरहे पनि काम शुरु नगरेको योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए।
उनीहरुले कोभिडकै कारणले काम गर्न नसकेको बताएका छन् ।’ सडक निर्माणका लागि सम्झौता हुँदा नै नेपाल सरकारले निर्माणस्थल खाली गराउने र चिनियाँ टोलीले निर्माण गर्ने सहमति भएको थियो । चीन सरकारको लगानीमा निर्माण हुने र निर्माण व्यवसायी पनि चिनियाँ नै हुने बताइएको छ ।
सरकारले निर्माणस्थल खाली गराउनु पहिले नै चिनियाँ टोली निर्माणका लागि आइपुगेको सूचना अधिकारीले जानकारी दिए। निर्माणस्थल खाली नभएकाले उनीहरु तत्काल फर्किएका थिए। त्यसपछि कोभिड शुरु भएकाले फेरि आएका छैनन्।
स्याफ्रुबेंसी–रसुवागढी सडक दुई लेनमा बिस्तार गर्न लागिएको हो। सात मिटर चौडाइमा एक मिटर नाली निर्माण गरिने योजनाले जानकारी दिएको छ। अहिले झण्डै पाँच मिटर चौडा छ। एक लेनको सडक भनिए पनि अहिले दोहोरो गाडि सजिलो आवतजावत गरिरहेको सूचना अधिकारी पाण्डेयले जानकारी दिए।
विसं २०७२ मंसिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो। दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रुपमा स्थापित गर्ने सरकारको योजना थियो। योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ। चितवनको भण्डारालाई शुरु विन्दु मान्दा भने चार जिल्ला पर्छन्। भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरेका छन्।
स्याफ्रुबेंसीबाट रसुवागढीसम्मको सडकको लम्बाइ १७ किमी छ। गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ। योजनाअन्तर्गत ३२ ओटा पुल निर्माण गर्नुपर्नेमा आठ पुल निर्माण सम्पन्न भइसकेका छन् भने आठ ओटा निर्माणाधीन छन्।