खोटाङ। खोटाङको रसुवाघाट–कालापानीमा सञ्चालित करोडौंको लिफ्टिङ खानेपानी आयोजना एक वर्षदेखि बन्द छ। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका खोटेहाङ गाउँपालिका– लिच्कीराम्चेस्थित कालापानीका स्थानीयवासी ढिलै भए पनि आफ्नो गाउँमा लिफ्टिङ खानेपानी आयोजना भएपछि हर्षित भएका थिए ।
तर कहिले बेलामा विद्युत महशुल बुझाउन नसक्दा त कहिले उपकरण बिग्रने समस्याका कारण खानेपानीको समस्या ज्यूँका त्यूँ छ । वि.सं २०७२ चैत ११ गते शिलान्यास गरी पाँच वर्षपछि सञ्चालनमा ल्याइएको रसुवाघाट–कालापानी खानेपानी आयोजना खोटाङकै पहिलो लिफ्टिङ आयोजना हो । साविकको लिच्कीराम्चे–७ का ११० घरलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त आयोजना वि।सं २०७७ पुस–११ गते हालका प्रदेश सांसद भूपेन्द्र राईले औपचारिक रूपमा उद्घाटन गरेका थिए ।
नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी एक करोड ८० लाखमा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना एक वर्षदेखि बन्द छ । खानेपानी अभावमा बसाइँ सर्नुपर्ने बाध्यतामा रहेका कालापानीबासीका लागि सुरुका केही दिन लिफ्टिङ खानेपानी आयोजनाले राहत मिलेको थियो । तर कहिले बेलामा विद्युत महशुल बुझाउन नसक्दा त कहिले उपकरण बिग्रने समस्याका कारण उही पुरानै समस्या भोगिरहेका छन् ।
कालापानीका स्थानीय चुहार पँधेरा, मानेखोला पँधेरा र खारखोला पँधेराबाट दुई घण्टा हिँडेर खानेपानी उपभोग गर्न बाध्य छन् । एउटा लिफ्टको मोटर चलाउने पाइनल बोर्ड बिग्रेका कारण खानेपानी आयोजना बन्द भएपछि समस्या आएको हो । गत वर्ष प्रदेश खानेपानी आयोजनाबाट विनियोजन भएको सात लाख खर्च गरेर सञ्चालनमा ल्याएको खानेपानी १५ दिनमै बिग्रियो । यस वर्ष पनि प्रदेशको तर्फबाट पाँच लाख बजेट विनियोजन भएको छ । बाहिरबाट प्राविधिक बोलाएर खानेपानी सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजनाका अध्यक्ष कर्णबहादुर राउतले बताए ।
खानेपानीको समस्या विकराल बन्दै गएपछि कालापानीमा पम्पिङ प्रविधिमार्फत् १८ सय मिटर तल रहेको सुनकोशीको पानी गाउँमा ल्याउने विकल्पअघि सारिएको थियो । उक्त क्षेत्रमा अधिकांश विपन्न परिवारका मानिसको बसोबास छ । उनीहरूलाई खानेपानी महशुल तिर्नसमेत हम्मेहम्मे छ । खानेपानी महशुलको केही प्रतिशत स्थानीय सरकारले सहयोग गर्नुपर्ने स्थानीयबासीको माग छ । तर आयोजना नै स्थानीय उपभोक्तालाई जिम्मा लगाइसकेपछि स्थानीयबासी आफैले बेहोनुपर्ने स्थानीय सरकारको तर्क छ ।
उक्त क्षेत्रमा २०७१ सालबाट सुरु भएको लिच्किराम्चे दिउ खानेपानी आयोजना पनि १० वर्षसम्म सम्पन्न हुन सकेको छैन । हालसम्म बाघेढुंगा ट्यांकीसम्म मात्र आइपुगेको छ । संघीय खानेपानी आयोजनाको अनुमानित ६ करोड रुपैयाँ बजेटमा उक्त आयोजना सुरु गरिएको हो । स्थानीय सरकारले यस वर्ष सात लाख बजेट छुट्याएर ठाउँठाउँमा पाइप जोडी आवश्यक ठाउँमा पानी पुर्याएको छ । अझै पनि पाइपका कारण योजना सञ्चालित नहुँदा प्रत्येक टोलमा खानेपानी पुग्न नसक्दा खानेपानीको हाहाकार छ । कारोबार दैनिकबाट