काभ्रे। कोरोना र प्राकृतिक प्रकोपका कारण काभ्रेका दुई ठूला खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ। फेरी कोरोनाको जोखिम दोहोरिने कुराले उनिहरुलाई चिन्ता लाग्न थालेको कारणले गर्दा पुनःकोरोनाको जोखिम बढ्नु अगावै निर्माण कार्य सक्ने उद्देश्यका साथ हाल द्रुत गतीमा निर्माण कार्य भइरहेको छ। कोरोनाको जोखिमका कारण तेमाल बृहत् खानेपानी निर्माण २ वर्ष पछाडी धकेलिएको हो।
बृहत् पाँचखाल खानेपानी आयोजनाको काम पनि कोरोनाको तेस्रो लहरले प्रभावित बनाउनेमा स्थानीय चिन्तित भएएका छन्। कोरोनाको तेस्रो लहरले आयोजना प्रभावित नहोस भनेर ते अगावै काम सक्नको लागि कामलाई थप तीव्रता दिएको तेमाल बृहत् सुख्खा–क्षेत्र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षले जानकारी दिएका छन्। हाल सो आयोजनाको ९५ प्रतिशत काम सकिएको छ, फेरी कोरोनाको जोखिम बढेमा यस वर्षको निर्माण सक्ने लक्ष्य पनि पूरा नहुने उनले जनाएका छन्।
कोरोनाका कारण दुई वर्ष आयोजना धकेलिएको भएपनि आगामी मङ्सिरमा तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको उनले जानकारी दिएका छन्। सो आयोजनालाई गत असार र साउनमा इन्द्रावती नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो। बाढीले मुहानलगायतमा क्षति पुर्याएको सो खानेपानी आयोजनाका संरचना मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन्।
लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा रहेका छन्। बाढीले क्षति पुर्याएको आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई हाल सुरक्षित गरिएको हो। बाढीले सो आयोजनामा रु ६० लाखभन्दा बढी क्षति पुर्याएको थियो भने करोडौंका संरचनालाई जोखिम पुर्याएको थियो। तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करिब ५५ हजारका लागि उक्त खानेपानी आयोजना सञ्चालन गरिएको हो।
हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्य भइरहेको छ। कुनै विपद्ले नरोके आउँदो चैतभित्र खानेपानी वितरण गर्नेगरी तीव्रगतिमा काम भइरहेको अभ्ध्यक्षको भनाइ छ। सरकार, खानेपानी विभागमार्फत रु १ अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन्।
सिन्धुपाल्चोकको मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत् शहरी खानेपानी तथा सरसफाइ आयोजना मुहानमा ठूलो क्षति पुर्याएको थियो। निर्माणाधीन भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका संरचना, मुहानको इन्टेक, २० वटा ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा दुई करोडभन्दा बढीको क्षति पुगेपछि पुनःनिर्माण तथा सुरक्षित बनाउने गरिएको उपभोक्ता समितिले जानकारी दिएको छ।
दुई अर्ब २१ करोडको लागतमा अढाइ वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको पाँचखाल बृहत खानेपानी आयोजना हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो मानिएको छ। पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल सो आयोजना कार्यान्वयनको चरणमा रहेको छ।