काभ्रेपलाञ्चोक। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काभ्रेपलाञ्चोकका ६ गाउँपालिकालाई दुर्गम स्थानीय तहमा सूचीकृत गरेको छ । मन्त्रालयले हालै गरेको वर्गीकरणमा देशभरका स्थानीय तहलाई सुगम र दुर्गमका आधारमा विभाजन गरेको हो ।
काभ्रेपलाञ्चोकको ३ तह सुगम, ६ तह दुर्गम र ४ तह मध्यममा परेका हुन् । मन्त्रालयको वर्गीकरणअनुसार जिल्लाका तीन पुराना नगरपालिका बनेपा, धुलिखेल र पनौती सुगममा परेका छन् । खानीखोला, चौँरीदेउराली, तेमाल, बेथानचोक, भुम्लु र महाभारत गाउँपालिका दुर्गममा परेका छन् ।
यस्तै, अन्य चार तह पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिका मध्यममा सूचीकृत भएका हुन् । मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई चार वर्गमा वर्गीकरण गरेको थियो।
दुर्गममा वर्गीकृत गाउँपालिकामध्ये जिल्लाको दक्षिणी क्षेत्र (डाँडापारी)का महाभारत र खानीखोलालाई हालैमात्र निर्माण सुरु गरिएको दुई सडक सञ्जालले सुगमतातर्फउन्मुख गर्दैछ । यी दुई तह पक्की सडकमार्फत काभ्रेपलाञ्चोक हुँदै जाने दुई राजमार्गले अरनिको र बिपीसँग जोडिएर सुगमतातर्फ डोर्याउने भएका हुन् ।
गत साता मात्रै रोशी–महाभारत–खानीखोला जोड्ने जनमुक्ति मार्ग ७५ किलोमिटर र बनेपा–पनौती–बेथानचोकको ढुङ्खर्क–च्याम्राङबेंसी–ललितपुरको सुकुमफेदी हुँदै मकवानपुरको झुरझुरेसम्म ३८ किमी सहायक मार्गका रुपमा निर्माण थालनी गरिएको छ।
सहायक मार्ग निर्माणका लागि पहिलो चरणमा रु पाँच करोड ८२ लाख ९७ हजार पाँच सय ६५ मा सम्झौता गरिएको छ । सम्झौता अनुसार निर्माणको जिम्मा लिएको जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जेभी काठमाडौंले दुई वर्ष अर्थात् २०८२ असोज २४ गते सम्पन्न गर्नुपर्नेछ ।