म्याग्दी। ठेकदारको लापरबाही र अति ढिलासुस्तीले मालिका गाउँपालिका–६, रातोढुंगा (दरवांग)मा ३३/११ केभि सव–स्टेसन निर्माण चार वर्षदेखि अलपत्र छ । पर्वतको जलजला गाउँपालिका ४–मिलनचोकबाट २२ किलोमिटर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातोंगासम्म ३३ केभी प्रसारण लाईनको अघिल्लो विहीवारदेखि परीक्षण भइरहेको छ ।
तर सवस्टेसनभित्र हुने ट्रान्सफर्मर र ब्रेकरको काम सुरु हुन सकेको छैन । त्यसै, सवस्टेसनदेखि अझै पश्चिम रुमसम्म जोडिने ११ केभीको प्रसारण लाइन निर्माण पनि पूरा भएको छैन ।
रातोढुंगा (दरबाङ) सव–स्टेसन म मातहतको प्रोजेक्ट हैन । तर मलाई के थाहा छ भने मिलनचोक–रातोढुंगा २२ किमि लामो ३३ केभी लाईनको परीक्षण भैरेबाहेक सव–स्टेनको अन्य काम भइरहेको छैन,’ नेपाल विद्युत् प्राधिकरण म्याग्दी केन्द्र प्रमुख प्रताप बरालले भने, ‘सव–स्टेसनमा रहने ट्रान्सफर्मरहरु जडान तथा परीक्षण गर्ने, ३३ केभीबाट ११ केभिएमा कन्भर्ट गर्न राखिने ब्रेकरहरु राख्ने र परीक्षणको काम बाँकी छ ।’
प्रमुख बरालले थपे, ‘जिल्लाको पश्चिम भेगमा प्रसारण लाइन परीक्षणमा फल्ट आउने गरेकोले विद्युत् नियमित गर्न सकेका छैनौं।’
पश्चिमी क्षेत्रका मंगला, मालिका र धौलागिरि गाउँपालिका क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति सहज बनाउन विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय टेकु अन्तर्गतको विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले विसं ०७५ पुसभित्र सम्पन्न गर्ने गरी राकेश अग्रवाल सञ्चालक रहेको ए टु जेट इन्जिनियरिङलाई ०७३ सालको सुरुमै ठेक्का दिएको थियो ।
आयोजनाका अनुसार सव–स्टेसनको सिभिलतर्फ कन्ट्रोल विल्डिङ, स्टाफ विल्डिङ र स्वीचार्ड गरी तीन संरचना तथा इलेक्ट्रिकतर्फ पर्वत जलजला गाउँपालिकाको मिलनचोक सव–स्टेसनबाट बेनी पश्चिम २२ किमी लामो ३३ केभी प्रसारण लाइन, उपकरण जडान तथा मालिका गाउँपालिकाको रुम, देवीस्थानसमेत २५ किमी बढी वितरण लाईन एवं १२ वटा ११ केभीए क्षमताका ट्रान्सफर्मर जडान गर्ने गरी एटुजेटले ८ करोडमा ठेक्का लिएको हो ।
सव–स्टेसन निर्माण गरिरहेको ए टु जेड इन्जिनियरिङले भने जनवरीसम्म सवस्टेसनमा ट्रान्सफर्मर र ब्रेकरको समेत परीक्षण पूरा गर्ने बताएको छ । रातोढुंगा सवस्टेसनबाट ११ केभिको ६० किमी लामो वितरण लाइनबाट ११ केभी फिडर लाइनले एक सय ५० सयबढी सानाठूला ट्रान्सफर्मरको लोड बहन गर्ने छ । कान्तिपुरबाट