काठमाडौं। मेसिन तथा डिभाइसबीच आपसमा सम्पर्क स्थापना गर्ने इन्टरनेट अफ थिङ्स(आईओटी)लाई नियमनको दायरामा ल्याइने भएको छ। मेसिन टु मेसिन (एमटुएम) सञ्चार नामले पनि परिचित आईओटीको सुरक्षित प्रयोग तथा तथ्याङ्कको गोपनीयता राख्ने उद्देश्यले यसलाई नियमन गर्न लागिएको हो। त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ।
सुझावका लागि सार्वजनिक गरिएको सो मस्यौदामा आईओटी सञ्चालकलाई अनुमतिपत्र प्रदान गर्ने, फ्रिक्वेन्सीको व्यवस्थापन गर्ने, प्रयोग हुने डिभाइस तथा मेसिनको पहिचान गर्ने र मेसिनले सिर्जना गर्ने डेटाको सुरक्षा तथा व्यवस्थापन गर्नेलगायतका विषय समेटिएको छ। डिजिटल नेपालको अवधारणालाई सहयोग पुर्याउन तथा भविष्यमा आईओटीमार्फत प्राप्त हुने डेटा सुरक्षालाई प्राथमिकतामा राखेर यसलाई नियमन गर्न नियमावली बनाउन लागिएको प्राधिकरणकाले जानकारी दिएको छ। यसैगरी भविष्यमा आईओटी व्यवस्थापनका लागि सरकारलाई सहजीकरण गर्ने तथा फाइभजीको प्रयोगलाई पनि ध्यानमा राखी मस्यौदा तयार पारिएको जनाइएको छ। यसैगरी प्राधिकरणले गत कात्तिक अन्तिममा नेपाल टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति दिइसकेको छ।
उक्त मस्यौदाअनुसार विद्यमान दूरसञ्चार सेवा प्रदायकलाई उनीहरूकै मोबाइल नेटवर्क प्रयोग गर्न सकिने गरी अनुमतिपत्र दिन सकिने साथै नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकले पनि उनीहरूको नेटवर्क प्रयोग गर्न पाउने गरी अनुमतिपत्र प्रदान गर्न सकिने उल्लेख गरिएको छ भने पूर्णतः आईओटी सुविधा मात्र सञ्चालन गर्न चाहनेका लागि पनि अनुमतिपत्र उपलब्ध गराउन सकिने व्यवस्था खुला राखिएको र त्यस्ता सेवा प्रदायकलाई अनुमति लिनु नपर्ने फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने प्राधिकरणले जानकारी दिएको छ।
त्यस्तै नेपालको सन्दर्भमा फाइभजीको परीक्षणको बाटो खुलिसकेकाले मोबाइलमा आधारित आईओटीको प्रयोग बढ्ने देखिएको छ। यसबाहेक स्मार्ट घर, जीपीएस ट्र्याकिङ, विपत्पूर्व सूचना प्रणाली, मौसम विवरणलगायतका तथ्याङ्क सङ्कलनका लागि समेत यो उपयोगी हुने जनाइएको छ। आधुनिक स्वास्थ्य प्रणालीमा पनि आईओटीको प्रयोगमार्फत कतिपय असम्भव काम पनि सम्भव भएका छन्।
यसैगरी सरकारले अहिले सवारीसाधनको नियमनका लागि परीक्षणस्वरूप सञ्चालन गर्न लागेको जीपीएस डिभाइस जडान पनि आईओटीको एउटा उदाहरण हो। उक्त प्रणालीअन्तर्गत डिभाइसले विभिन्न किसिमका डेटा सिर्जना गर्ने र ती डेटाका आधारमा विश्लेषण, मूल्याङ्कन तथा स्वचालित रूपमा कार्यप्रणाली सम्भव हुने जनाइएको छ।