काठमाडौं। भक्तपुर नगरपालिकाले हनुमान क्षेत्रमा रहेको खोह्र दीप र छिपा ताँको पुनर्निर्माण गरेको छ। ०७२ को विनाशकारी भूकम्पले भत्किएको सो क्षेत्रको पुनर्निर्माण स्थानीयको आर्थिक सहयोगमा गरिएको हो। स्वर्ग जाने बाटोको रूपमा परिचित खोह्र दीपको रामायणकालदेखि ऐतिहासिक तथा पौराणिक महत्त्व रहेको स्थानीय जानकारी दिएका छन्। यसैगरी हनुमान घाटमा भक्तपुरका स्थानीयले मरेका व्यक्तिको दाहसंस्कार गर्दै आएका छन्।
भूकम्पबाट क्षतिग्रस्त भई अलपत्र अलपत्र अवस्थामा रहेको सो क्षेत्र पुनर्निर्माणका लागि स्थानीय नागरिक र सरकारले चासो देखाएसँगै स्थानीयले आर्थिक सहयोग गरेका हुन्। स्थानीय र स्थानीय गुठीबाट संकलित आर्थिक सहयोग र श्रमदानबाट सो क्षेत्रको पुनर्निर्माण सम्पन्न भएको पालिकाले जानकारी दिएको छ। मौलिक तथा परम्परागत शैलीबाट सुर्की, चुन, दाची, अपालगायत आकर्षक काष्ठकलाको प्रयोगबाट पुनर्निर्माण गरिएको जनाइएको छ। उपभोक्ता समिति गठन गरी गत मंसिरबाट सुरु भएको पुनर्निर्माणमा कोरोना महामारीका कारण केही ढिलाइ भएको वडा नम्बर ७ का वडाध्यक्ष ले जानकारी दिएका छन्।
खोह्र दीप ध्वाखाको पुनर्निर्माणमा स्थानीय नागरिकले सक्दो सहयोग गरेको जनाउँदै मौलिक शैलीमा उक्त क्षेत्रको पुनर्निर्माण गरेका उनले जानकारी दिएका हुन्। सो क्षेत्रमा स्थानीय प्राविधिक, इतिहासविद्सँग समन्वय गरी उनिहरुकै सल्लाहअनुरूप कार्य गर्दै आएका र उक्त क्षेत्र जिल्लाको तीन नदीको संगम स्थल भएको उनको भनाइ छ। सो क्षेत्रको पानी विगतमा पिउन प्रयोग हुने गरे पनि आजभोलि दूषित भएको कारण् यसलाई सरसफाइका लागि प्रयोग गर्न मिल्ने बनाउने योजना रहेको पनि उनले बताएका छन्। अहिले पुल र प्रवेशद्वारको मात्रै पुनर्निर्माण सकिएको जनाइएको छ भने थप आकर्षक बनाउन पाटी निर्माण, खोलाको सरसफाइलगायत कार्य बाँकी रहेको छ। सो क्षेत्रको पुनर्निर्माणका लागि चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिकाका करिब १ सय ६० वटा गुठीले आर्थिक सहयोग गरेको वडाध्यक्षले जानकारी दिएका छन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिकाले आफ्ना विकास निर्माणका सम्पूर्ण गतिविधि सफलतापूर्वक उपभोक्ता समितिमार्फत गरिरहेकामा धन्यवाद दिँदै छिपा ताँ सँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्ने जनाएका छन्। यसैगरी उनले सुधारिएको शवदाहगृह र विद्युतीय शवदाहगृह निर्माणतर्फ पनि नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिएका छन्। यसैगरी उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीयको अपनत्व रहने, स्थानीयले स्वयंसेवी रूपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण कार्य हुने भक्तपुर नगरपालिकाका प्रमुखले दाबी गरेका छन्।