काठमाडौं। बिहीबार एकै पटक ३ क्रसबोर्डर प्रसारण लाइनको उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र भारतीय समकक्षी जयशंकरले संयुक्त रूपमा लाइनको उद्घाटन गरेका हुन् ।
मैनहिया (नेपाल)–सम्पत्तिया (न्यु नौतनवा, भारत) १३२ केभी प्रसारण लाइन, कुशाहा (नेपाल)–कटैया (भारत) १३२ केभी दोस्रो सर्किट प्रसारण लाइन र परवानीपुर (नेपाल)–रक्सौल (भारत) १३२ केभी दोस्रो सर्किट प्रसारण लइन परियोजनाको उद्घाटन गरिएको हो ।
रक्सौल–परवानीपुर, कुशाहा–कटैया प्रसारण लाइनको एकएक वटा सर्किट यसअघि नै सञ्चालनमा थिए । ती प्रसारण लाइनमा अर्को सर्किट थप गरी डबल सर्किटमा निर्माणाधीन छन् ।
यी लाइनबाट हाल ८० मेगावाट बराबरको बिजुली आदान प्रदान हुँदै आएकोमा दोस्रो सर्किट सञ्चालनमा आएपछि थप ८० मेगावाट बिजुली आदान प्रदान गर्न सकिने प्राधिकरणले जनाएको छ ।
यसैगरी, २०० मेगावाट विद्युत् प्रवाह हुने न्यू नौतनवा–मैनाहिया लाइन भने एक एक साता अघि मात्र चार्ज भएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरको नेतृत्वमा आएको टोलीमा भारतीय विदेशसचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका अधिकारीहरू सम्मिलित छन् ।