काठमाडौं। पाँचथरमा ‘महागुरु फाल्गुनन्द धार्मिक पार्क’ निर्माण हुने भएको छ। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विकास आयोजना अन्तर्गत पाँचथरमा महागुरु फाल्गुनन्द पार्क निर्माण गर्न लागिएको हो।
पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिका अन्तर्गत पर्ने सिलौटी–लब्रीकुटिमा निर्माण गर्न लागिएको पार्कका लागि बोलपत्र आह्वान गरिएको छ। करिब १८ करोड लागतको उक्त आयोजना सम्झौता भएको मितिबाट ३४ महिनामा सक्नुपर्ने बताइएको छ।
आयोजना प्रमुख टोपबहादुर श्रेष्ठले पार्क निर्माण गर्न लागिएको स्थल पर्यटकीय क्षेत्र भएकाले थप पर्यटन प्रवद्धनका लागि पार्क निर्माण गर्न लागिएको बताए। उनले निर्माण पाटीसँग भने, ‘यो पर्यटकिय क्षेत्र हो। यहाँ माथितिर फल्गुनन्दको समाधीस्थल छ भने तल ध्यान केन्द्र छ। त्यसकै सेरोफेरोमा रहेर फाल्गुनन्द पार्क निर्माण गर्न लागिएको हो।’
पार्क निर्माण भएपछि त्यस क्षेत्रको मात्र नभएर प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा उक्त क्षेत्र परिचित हुने उनको दाबी छन्। माता पाथिभरादेखि सिक्किम, कञ्चनजंगा पुग्ने मार्ग पनि यसकै सेरोफेरोमा रहेको भन्दै यस क्षेत्र पर्यटकीय गन्तव्यका लागि महत्वपूर्ण हुने प्रमुख श्रेष्ठले बताए।
बोलपत्र आह्वान भइसकेको र बीचमा कुनै पनि बाधा नआए सबै प्रक्रिया पूरा गरेर फागुनसम्ममा निर्माण कार्य शुरु हुने प्रमुख श्रेष्ठले जानकारी दिए।
महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारक हुन्। उनको समाजसुधारको कदमलाई समाज सुधार दिवसको रुपमा समेत मनाइन्छ।