जुम्ला। भौगोलिक हिसाबले विकट कर्णालीका दुर्गम जिल्लाको पूर्वाधार विकासका लागि बहुर्षीय योजनाको विकल्प छैन । साना टुक्रेयोजनाले कर्णालीको विकासमा फड्को मार्न सम्भव पनि देखिन्न। अन्तरपालिका, अन्तरजिल्ला तथा गाउँ जोड्ने सडक विकासमा टुक्रे बजेट मुख्य बाधक बनेका छन् । पहिलो बहुर्षीय योजना कम हुने र दोस्रो बजेट अभावले कर्णालीका जिल्लामा सञ्चालित बहुवर्षीय योजना निर्माणमा ढिलाइ भएको छ ।
जुम्लामा पूर्वाधार विकास कार्यालयले तीनवटा बहुर्षीय योजना निर्माण गरिरहेको छ । भौगोलिक कठिनाइ, जनशक्ति अभाव, हिउँदको चिसोमा २र३ महिना कामै नहुने र वर्षेनी बजेट अभाव हुने समस्याकै बीच कार्यालयले बहुर्षीय योजनालाई गति दिइरहेको छ । तर बहुवर्षीय स्वीकृत भएर ठेक्कासमेत भइसकेका योजनामा वर्षेनी हुने बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले भने निर्माण कार्यमा ढिलाइ हुँदै आएको छ ।
पूर्वाधार विकास कार्यालय जुम्लाले सञ्चालन गरेको तीनवटा बहुवर्षीय सडक योजना निर्माणमा वर्षेनी बजेट अभाव हुने गरेको छ । जसले गर्दा निर्माणमा ढिलाइ हुँदै गएको छ । जसमा जुम्ला–एयरपोर्ट–उर्थुखाली–न्याउरीघाट–भुलभुले सडक, जलजला–गोठिज्युला–गोठेलबाडा, कालाकाँडा–मुगु खत्याड जोड्ने सडक र जुम्ला दानँसाघु–चोत्रा–काईगाउँ डोल्पा जोड्ने सडक योजनालाई पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्दै आएको छ ।
जसअन्तर्गत जुम्ला–एयरपोर्ट–उर्थुखाली–न्याउरीघाट–भुलभुले सडकको हाल सम्मको प्रगति २० प्रतिशत भएको पूर्वाधार विकास कार्यालय जुम्लाका सूचना अधिकारी टेक हितानले बताए । कुल ३६ करोड बजेटमा ठेक्का सम्झौता भएको उक्त बहुवर्षीय योजनामा गत वर्षको ठेकेदारले लापरबाही गर्दा निर्माण ढिलो भएको हो । जुम्लादेखि भुलभुलेसम्म ३७ किलोमिटर दूरी रहेको उक्त सडक रारा ताल जाने सबैभन्दा छोटो पर्यटन मार्ग हो ।
जुम्ला हुँदै रारा जाने पर्यटकका लागि निकै उपयुक्त मानिएको सडकलाई निर्माण व्यवसायीको ढिलासुस्तीदेखि बजेट अभावले निर्माण कार्य प्रभावित भइरहेको छ । हालसम्म भुलभुले खण्ड, चौथा तथा खाली खण्डमा पनि राम्रो काम भएको र अन्य खण्डका लागि कार्यालयले तोकता गरिरएको सूचना अधिकारी हितानले बताए । त्यस्तै गोठिज्युला–गोठेलबाडा, कालाकाँडा–मुगु खत्याड जोड्ने सडकको प्रगति हालसम्म ५० प्रतिशतमात्रै भएको छ ।
कुल १७ करोड बजेटमा ठेक्का सम्झौता भए पनि हाल उक्त योजनामा तीन करोड बजेट विनियोजन भएको र नौ करोड बजेट अभाव रहेको छ । थप बजेटका लागि माग भइरहेको कार्यालयले जनाएको छ । नौ किमी दूरी भएको उक्त सडक निर्माणले कनकासुन्दरीबासीलाई मुगु खत्याड जान सहज हुनेछ । साथै जुम्ला दाँनसाघु–चोत्रा–काँईगाउँ डोल्पा जोड्ने सडकका प्रगति ४० प्रतिशत भएको देखिन्छ । उक्त बहुवर्षीय योजना पनि १७ करोडमा ठेक्का सम्झौता भएको थियो । निन्तर आउने बजेट भए पनि उक्त योजनामा हाल २दुईकरोड अभाव छ ।
त्यसका लागि प्रदेशमा माग गरिरहेका छौ । सडक डिभिजिनले निर्माण गर्ने जुम्ला–डोल्पा–मुस्ताङ सडकअन्तर्गतको १२ किमि सडक पूर्वाधार विकास कार्यालयले बुहर्षीय योजनाका रूपमा निर्माण गरिरहेको छ । निर्माण व्यवसायी जिम्मेवार, स्थानीय सरकारको सहयोग तथा समन्वय नभएसम्म पूर्वाधार विकासले गति लिनसक्ने अवस्था छैन । तथापि कर्मचारी अभाव, भौगोलिक विकटता र मौसमी प्रतिकूलताका बीच पनि आफ्ना कार्यक्षेत्रको सडक निर्माण र स्तरवृद्धि कार्यलाई द्रुतगतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख पदम देवकोटाले बताए ।
पर्याप्त बजेट बिना बहुवर्षीय योजना निर्माणमा चुनौती रहेको छ । भौगोलिक विकटता, जनशक्ति अभावले पूर्वाधार विकासको काम गर्न मुस्किल छ । उनले भने, ‘वर्षेनी हुने बजेट अभावले अपेक्षित रूपमा उपलब्धि हासिल गर्न चुनौती छ नेपालकै ठूलो रारा तालमा यस सडकबाट नाग्म–गमगडी सडकभन्दा करिब तीन घण्टा छिटो पुगिन्छ । ‘जुम्ला–उर्थु–भुलभुले–राराताल’ जोड्न सडकलाई पर्टकीय मार्गका रूपमा विकास गर्न प्रदेश सरकारले जोड दिन जरुरी छ ।’
निर्धारित समयमै निर्माण गर्ने र यात्रालाई सहज बनाउने लक्ष्य भए पनि निर्माण व्यवसायीको लापरबाही, बजेट अभाव, हिउँदमा काम गर्न नमिल्ने जस्ता कठिनाइले हिमाली जिल्लामा भौतिक विकास गर्न फलामको चिउरा चपाउनु जस्तै भएको प्रमुख देवकोटाले उल्लेख गरे । बेला बेला जुम्ला–एयरपोर्ट–उर्थुखाली–न्याउरीघाट–भुलभुले सडकमा दुर्घटना भइरहने भएकोले पनि चाडो स्तरवृद्धि गर्नुपर्ने दबाब छ ।
साथै कार्यालय नै निर्माण गरेको कनकासुन्दरीको भैसेडी पक्की पुल तथा गुठिचौर गाउँपालिकाको झारज्वालामा रहेको निधारा पक्की पुल अन्तिम चरणमा पुगेका छन् । ५र५ करोड लगानीका पक्की पुल निर्माण अन्तिम चरणमा गएको र यसै आर्थिक वर्षमा सम्पन्न हुनेछन् । बहुवर्षीय योजनाको स्रोत सुनिश्चितताका लागि न्याउरीघाट र लुम पक्की पुलको बजेट माग गरिए पनि अर्थ मन्त्रालयमै फाइल अड्किएको छ । कारोबार दैनिकबाट