काठमाडौं। अहिले उपत्यकाका सडकमा जडान भएका अधिकांश सौर्यबत्ती बिग्रिएका छन्। १८ औँ सार्क शिखर सम्मेलनका लागि भन्दै नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाले महानगरका मुख्य सडकमा सोलार बत्ती जडान गरेको थियो। तर, जडीत बत्तीको उचित मर्मत संभार नहुँदा सौर्यबत्तीहरु काम नगर्ने अवस्थामा पुगेका छन्।
सडक बत्तीको समस्या समाधान गर्न अब विद्युतीय बत्ती मात्र बाल्ने योजना रहेको छ। सोलार बत्ती हटाउने योजना रहेको काठमाडौं महानगर अन्तर्गतको सार्वजनिक निर्माण विभाग प्रमुखले जानकारी दिएका छन्। मुख्य सडकमा १ हजार ७०० थान सडकबत्ती जडान गर्ने योजना रहेको विभाग प्रमुखको भनाइ रहेको छ। अघिल्लो आर्थिक वर्षमै विद्युत प्रधिकरण र महानगरबीच समन्वय भएर काम गर्ने सम्झौता भएको थियो। सडकबत्ति जडानको लागत महानगरले व्यहोर्ने गरी दसैँ अगाडि नै काम सुरु गर्ने तयारी भएको भएपनि केही समस्याले गर्दा रोकिएकाले गर्दा अब चाँडै काम सुरु हुने विभागले जनाएको छ।
पहिले नेपालमा विद्युत्को अभाव भएका कारण विकल्पमा सोलार बत्ती जडान गरिएको थियो। तर, हाल विद्युतको समस्या नभएका कारण सोलार बत्तीलाई विस्थापित गरेर विद्युतीय बत्ती जडान गर्ने तयारी भएको हो। सोलारका प्यानल पनि धुलोका कारण काम गर्न सक्ने अवस्थामा नभएको र हाल प्राधिकरणसँग पनि विद्युत प्रशस्त भएका कारण अब सबै विद्युतीय बत्ती जडान गर्ने योजना रहेको जनाइएको छ। एयरपोर्ट, कलंकी, बौद्ध, त्रिपुरेश्वर, बुढानीलकण्ठ, पुतलिसडक, बालुवाटार लगायतका ठाउँ गरेर काठमाडौंका ६० किलोमिटर सडकमा विद्युतीय बत्ती जडानको काम हुने भएको छ।
काठमाडौं महानगरले सडक बत्ती वापतको साढे १ अर्ब बढी रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी रहेको छ। प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार महानगर भित्रका रत्नपार्क वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र, कुलेश्वर वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रबाट गरी हालसम्म १ अर्ब ७३ करोड ९२ हजार ८४९ रुपौयाँ बक्यौता बुझाउन बाँकी रहेको छ। यसैगरी नेपाल विद्युत प्राधिकरणले पनि सम्पत्ती कर नबुझाएको महानगरले जनाएको छ। प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको कार्यालय भएकाले राज्यले कर तिर्नुपर्छ भन्यो भने मात्र प्राधिकरणले कर तिर्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन्।
काठमाडौं महानगरभित्रका शाखा सडकमा महानगरले आफ्नै लगानीमा सडक बत्ती राख्ने भएको छ। महानगर भित्रका ३२ वडामा जडान भएका बत्तीका लागि महानगरले वडासँग समन्वय गरेर वार्षिक ६ करोड रुपैयाँ बत्तीका लागि छुट्याउने गरेको सार्वजनिक निर्माण विभाग प्रमुखले जानकारी दिएका छन्। अदालतमा मुद्दा परेकाले महानगरका सडकमा सडक बत्ती जडानको काम हाल रोकिएको छ। प्राधिकरणले टेन्डर आह्वान गरिसकेको भएपनि ठेकेदारले मुद्दा दर्ता गराएकाले जडान कार्य रोकिएको जनाइएको छ।