काठमाडौं। खाद्य र प्लास्टिक उद्योगमा तल्लिन भएका धीरज अग्रवालले व्यवसायलाई बिस्तार गर्दै हाल स्टिल उद्योग स्थापनामा जुटेका छन्। स्टिल पार्क विस्तारका लागि उनले नवलपरासीको सरावल गाँउपालिका–३ मा साढे ६ बिघा जग्गा खरिद गरेका छन् भने अझ थप साढे ३ बिगाहा जग्गा खरिद गर्ने प्रक्रियामा रहेका छन्। उनले खोल्न लागेको नयाँ स्टिल उद्योग साढे ६ बिघा जग्गामा रहने जनाइएको छ।
कुनै अवरोध नआए एक वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने उनको योजना रहेको छ। सो उद्योगको नाम टेन स्टील पार्क प्रालि राखिएको छ। उक्त उद्योग सुरुमा कुल १ अर्ब लगानी निर्माण सुरु गर्ने योजना रहेको छ। उद्योगले वार्षिक एक लाख ८० हजार मेट्रिक टन आइरन स्ट्रिप उत्पादन गर्ने जनाइएको छ। उद्योग निर्माणको लागि कामदारहरु केही भारतबाट ल्याइनेछ भने अधिकांश स्थानीयस्तरबाट ल्याइने जनाइएको छ। यसैगरी मेसिनरी सञ्चालन र अन्य प्रयोजनाका लागि उद्योगमा कुल ३० हजार केभीए क्षमताको प्रसारणलाइन आवश्यक पर्ने प्राविधिकको भनाइ रहेको छ।
कम्पनीले फुड पार्क, प्लास्टिक पार्कपछि स्टिल पार्क विस्तार सुरु गरेको हो। जसमा मेटल इन्डस्ट्रीका ५ वटा जति सामाग्री उत्पादन हुने छन्। यो उद्योगबाट बिलेड, टीएमटी छड, जस्तापाता, एंगल सेक्सन, आईबी च्यानल, एमएस पाइप लगायत उत्पादन गर्नेछ। त्यसैगरी सो उद्योगले उत्पादन थालेपछि उद्योगमा थप एक अर्ब लगानी थपेर बिस्तार गर्ने योजना रहेको छ।
कम्पनीले फुड पार्कमा ८० करोड लगानी गरिरहेको छ। जसमा चामल र दालका प्रशोधनका लागि क्षमता वृद्धि गर्ने तयारी भइरहेको छ। सो कम्पनीले हाल काठमाडौं गेट, सेतो हिमाल ब्राण्डको चामल बिक्री गर्दै आएको छ। हाल चामल उद्योगको क्षमता १२ टन मात्र रहेको छ भने यसलाई विस्तार गरी २४ टन पुर्यौउने तयारी भइरहेको छ। त्यसैगरी दाल उद्योगको पनि क्षमता विस्तार गर्ने योजना रहेको छ। कोभिडपछि उद्योगीहरुले आफूले गर्दै आएका पुरानो व्यवसायसँगै नयाँ व्यवसपयिक क्षेत्रमा पनि हात हालिरहेका छन्।
यसैगरी अग्रवालले टेन्ट प्लास्ट उद्योग पनि चलाइरहेका छन्। यो उद्योगबाट पानी ट्यांकी, पाइप लगायत सामाग्री उत्पादन गर्दै आएको छ। यस उद्योगलाई पनि थप क्षमता विस्तार गरी प्लास्टिक पार्क बनाउने उनको योजना रहेको छ। यस उद्योगमा प्लास्टिकबाट उत्पादन हुने अधिकांश सामाग्रीहरु उत्पादन हुनेछन्। यस उद्योगको लागि १ अर्ब लगानी गर्ने कम्पनीको योजना रहेको छ। कम्पनीले गुणस्तर र प्रविधिमा कुनै सम्झौता नगर्ने दाबी गरेको छ।
प्लास्टिकमा इटालियन टेक्नोलोजीको प्रयोग गरिएको छ भने फुडपार्कमा जापानी टेक्नोलोजीको प्रयोग गरिएको छ। सो कम्पनीले सम्बन्धित क्षेत्रको सबैभन्दा बलियो प्रविधिलाई प्रयोगमा ल्याएको छ। त्यस्तै फलामजन्य उत्पादनमा जर्मन प्रविधिको प्रयोग गरिएको छ। साथै फलामबाट उत्पादन हुने सामाग्रीको बजार देशैभरी बिक्री गर्ने उक्त कम्पनीको योजना रहेको छ।