काठमाडौं। गोदावरी सडक कालोपत्र गर्न शुरु गरिएको छ। निर्माण कार्य शुरु भएको पाँच वर्षपछि यो सडक कालोपत्र गर्न शुरु गरिएको हो।
सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको र बाँकी एउटामा गत बिहीबारदेखि कालोपत्र शुरू गरिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
झण्डै चार किमी सडकमा अहिले कालोपत्र अघि बढाइएको आयोजनाले जनाएको छ। हरिसिद्धिको घुम्तीमा भने दुवैतिर नजिकै घर भएकाले तत्काल कालोपत्र हुनसक्ने अवस्था नरहेको बताइएको छ।
सो खण्डमा कालोपत्र गर्दा नटिक्ने हुँदा कंक्रिट ढलान गर्ने गरी योजना बनाइएको छ।
ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सडक संघीय सडकका रूपमा छ। सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्ला दिनमा केही गति लिन थालेको आयोजनाले जनाएको छ।
लामो समयदेखि सो सडक अलपत्र हुँदा गोदावरीसँगै बडिखेल, लेले, बिसङ्खुनारायण, गोदामचौर लगायतका स्थानका नागरिक हैरान छन्। वनस्पति उद्यान र प्राकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ।
सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या छ।
७.६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो। सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ।