जुम्ला। पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गरिरहेको दुईवटा पक्की पुल अन्तिम चरणमा पुगेको छ । केही महिनापछि सञ्चालनमा हुने गरी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ५/५ करोडको लगानीमा निर्माण भइरहेका भैसेडी पक्की पुलले सिञ्जा क्षेत्रलाई सदरमुकामसँंग जोड्ने छ भने गुठिचौर गाउँपालिका केन्द्र नजिक निर्माण भइरहेको निधारा पक्कि पुलले जुम्ला र डोल्पालाई जोड्ने छ ।
जुम्ला–डोल्पा जोड्ने सडकअन्तर्गत गुठिचौरको दायाँ बायाँ दुवै गाउँतर्फ सडक पुगे पनि बायाँ साइटमा पुल नहुँदा प्रायः दायाँ साइट दानसाँघु पुलबाटै गाडी गुड्दै आएका छन् । निधारा पक्की पुल निर्माणपछि गुठिचौर गाउँपालिकाको,केन्द्र हुँदै बायाँ साइटबाट पनि नियमित गाडी चल्ने छन् । उता कनकासुन्दरीको भैसेडी पक्कि पुल निर्माणपछि जुम्ला सदरमकाम पुग्न निकै छोटो हुनेछ । नागरिकले नाग्म–गमगडी सडकको लामो यात्रा गर्नुपर्ने छैन ।
दुवै पक्की पुल निर्माण अन्तिम चरणमा रहेकोले केही महिनामै सञ्चालनमा आउने पूर्वाधार विकास कार्यालय जुम्लाका सूचना अधिकारी टेक हितानले बताए। उनले भने, ‘दुवै पुलको ५/५ करोड गरी १० करोडमा ठेक्का सम्झौता भएको छ । गुठिचौरको निधारा पक्की पुलको दुवै साइटको माटो सम्याउने काममात्रै बाँकी छ । चाँडो काम सकाउन नियमित अनुगमन तथा निरीक्षण पनि गरिरहेका छौं । दुवै पुलको प्रगति ८० प्रतिशत छ ।’ पुल निर्माणले अन्तर जिल्लासँंगै पालिका र बस्तीसमेत जोडिने र यातायातको पहुँचमा आउने छन् ।
यसैबीच पूर्वाधार विकास कार्यालयले पातारासीको लुम र कनकासुन्दरीको न्याउरीघाटमा पक्की पुल बनाउन स्रोत सुनिश्चितताका लागि प्रदेशको अर्थ मन्त्रालयमा फाइल पेस गरेको छ । स्रोत सुनिश्चित भएमा यसै वर्षबाट ती क्षेत्रमा पक्की पुल बनाउने लक्ष्य राखे पनि महिना बितिसक्दा पनि फाइल अर्थमै थन्किएको छ । पातारासी–४ को लुममा काठेपुल बर्सेनि भत्किने र नागरिकले, सास्ती पाउँदै आएका छन् । दीर्घकालीन समाधानका लागि पक्कि पुल बिना सम्भव छैन ।
सबै प्रक्रिया पूरा गरेर स्रोत सुनिश्चतताका लागि माग गरेको र बजेट जुट्ने बित्तिकै लुममा पक्कि पुल बन्ने पूर्वाधार विकास कार्यालयमा प्रमुख पदम देवकोटाले बताए । उनले भने, ‘यस वर्ष आएको एक करोड ८० लाखले मात्रै पुल निर्माण सम्भव नभएकाले स्रोत सुनिश्चित भएपछि मात्रै ठेक्काको काम अघि बढाइने छ । त्यसका लागि नियमित पहल गरिरहेका छौं । पातारासीका जनप्रतिनिधिले पनि नियमित पहल कदमी गर्न जरुरी छ ।’ लुम र न्याउरीघाटमा जोखिम रहेकोले पक्की बनाउन पूर्वाधार विकास कार्यालयले विशेष जोड दिएको छ । कारोबार दैनिकबाट