काठमाडौं। नारायणगढ–बुटवल चार लेनको सडक स्तरोन्नती गरी २०७९ भदौ ६ गते निर्माण पूरा गर्नुपर्ने थियो । तर, दोश्रो पटक म्याद थप गरेर २०८१ साउन ८ गते बुझाउनु पर्ने सडकको प्रगती जम्मा ४३ प्रतिशत मात्र पूरा भएको छ । ०७५ मंसिर २९ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो ।
नेपालले १५ प्रतिशत र एसियाली विकास बैंक (एडिबि)को ८५ प्रतिशत ऋण सहयोगमा १७ अर्ब रुपैयाँमा स्तरोन्नती हुन लागेको ११३ किलोमिटरको नारायणगढ–बुटवल सडक म्याद थप गरेको समय सकिन ७ महिना बाँकी हुँदा पनि ४३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आयोजनाको म्याद ०७९ भदौ ६ मा सकिएर कोभिड–१९ कारण एक वर्ष म्याद थप भई ०८० साउन ८ कायम भएको थियो । दोश्रो पटकको म्याद ०८१ साउन ८ गते सम्म मात्र छ ।
सरकारले महेन्द्र राजमार्गको पूर्व–पश्चिम सडकलाई चार लेनमा विस्तार गर्न नारायणगढ–बुटवल सडक खण्डलाई स्तरोन्ती गरिरहेको हो । नारायणगढ–दाउन्ने (६४.५किलोमिटर) सम्म पहिलो खण्ड र दाउन्नेदेखि बुटवलको चौरहा (४८.५ किलोमिटर) सम्म दोस्रो खण्डमा वर्गिकरण गरेर काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको गत साउन २१ गतेसम्म भौतिक प्रगति ३७.१७ प्रतिशत रहेकोमा पाँच महिनामा जम्मा ६ प्रतिशत मात्र प्रगति भएको छ।
गत माघसम्म आयोजनाको २४.५ भौतिक प्रतिशत मात्र थियो । पछिल्लो समय आयोजनाको निर्माण कार्यले गति लिएको भएपनि अपेक्षाकृत गति भने लिन नसकेको एडिबि आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले बताए । उनले भने, ‘आयोजनाको ४० कि.मि. दुई लेन कालोपत्रे सडक निर्माण भएको छ । यसमा ३८ वटा पुल, २९५ वटा कल्भर्ट, ४८ कि।मि। सडकको बेस पूरा भएको छ । २०.४१ कि।मि। थप सव बेस र ६० कि.मि. ड्रेन गरी समग्रमा ४३ प्रतिशत भौतिक प्रगति भएको छ ।’
आयोजनाका अनुसार ११३ कि।मि। सडकमध्ये ७० कि.मि. ४ लेन र २९ कि।मि। ४ लेन, थप दुईतर्फ ६।६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ कि.मि. ३ लेन ६४ वटा पुल, ४३२ कल्भर्ट, १२९.१६ कि।मि। नालालगायतका संरचना निर्माण गर्नुपर्नेमा छ । तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, दुईपटक ठेक्का तोड्नेसम्मको चेतावनी दिएको आयोजनाले जनाएको छ । उनले भने, ‘आगामी १५ महिनामा काम सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले पेश गरेका छन् ।’
आयोजना निर्देशनालयका अनुसार दोस्रो पटक थप भएको समयमा पनि आयोजना पूरा नहुने निश्चित जस्तै भएको छ । ढकालले भने, ‘अबको डेढ वर्षभित्रै आयोजना पूरा गर्न दवाव दिँदै आएका छौं ।’ साइड किल्यर नहुनु, रुख कटानमा ढिलाई र नदिजन्य निर्माण सामग्रीको सजह उपलब्ध नहुनुले निर्माणमा ढिलाई भएको जनाइएको छ ।
निर्माण व्यवसायीको स्रोत साधन परिचालनमा ढिलाई तथा कमजोर व्यवस्थापनका कारण आयोजना ढिलाई भएको अधिकारीहरुको भनाइ छ । यातायात सुचारु गर्न नियमित मर्मत संभार, पानी छर्कने र एक साइड २ दुई लेन मात्रै भएपनि ०८१ असार अगडि सम्पन्न गर्न ठेकेदार कम्पनीलाई बाध्यकारी गरिएको ढकालको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडक खण्डको कामले तीव्रता पाएको बताए । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले दुवै राजमार्गको एक साइट टु लेन छिटो सक्ने गरी काम अघि बढेको बताए । उनले भने, ‘सरकारले सो क्षेत्रमा समस्या पहिचान गरिसकेकाले अब काम तीव्र रुपमा अघि बढ्ने छ ।’
नारायणगढ–बुटवलको पूर्वी खण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको उनले बताए । सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर उनको दावी छ । ‘पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ–बुटवल र मुग्लिन–पोखरा) मा प्रगति उल्लेख्य रहेको छ’ मन्त्री ज्वालाले भने । कारोबार दैनिकबाट