जुम्ला। तातोपानी गाउँपालिकाको दुर्गम क्षेत्र वडा नं. ७ र ८ का दर्जनौ बस्ती सञ्चारको पहुँचमा पुगेका छन् । वडा नं. ८ स्थित थलाले टावर सञ्चालनमा आएसँगै दुर्गम भेरीखोला फोर जीसहितको इन्टरनेट र टेलिफोन सेवाको पहुँचमा पुगेको हो । वर्षौदेखि अलपत्र थलाले टावर बुधबारदेखि सञ्चालनमा आएको हो । आधारभूत सेवाभित्र पर्ने सञ्चार सेवाबाट वर्षौंदेखि वञ्चित हुँदै आएको भेरीखोला क्षेत्रका नागरिक थलाले टावर सञ्चालनमा आएसंँगै खुसी भएका छन् ।
भेरीखोला क्षेत्रका टोप्ला, डुंग्री, बारगाउँ, ताम्ती, सर्मी, सुर्की, गाडापारी, कयाकोटलगायतका दर्जनौ गाउँ र बस्तीका हजारौ नागरिक सञ्चार सेवा विस्तारपछि खुसी भएको तातोपानी–७ का वडाध्यक्ष तिलक रावतले बताए । आजको सूचना र प्रविधिको समयमा पनि भेरीखोलाका बासिन्दा टावर नहुँदा आफन्तसँग सूचना आदानप्रदान गर्नबाटै वञ्चित थिए । संघ प्रदेशका सांसददेखि स्थानीय सरकारसँग सधै सञ्चार सेवा विस्तारकै मागसमेत गर्दै आएका थिए ।
ढिलै भए पनि थलालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालन आएसँगै सम्पूर्ण भेरीखोला क्षेत्र सञ्चार सेवाको पहुँचमा पुगेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । वर्षौंदेखि अलपत्र रहेको थलाले टावर सचालनका लागि पालिकाले निन्तर ताकेता गरिरहेको थियो । उनले भने, ‘ठेकेदारले हाम्रो ताकेता र भेरीखोला बासीको समस्यालाई बुझ्दै टावर निर्माणलाई पूर्णता दिएर सञ्चार सेवा सुरु भएको हो । यसलाई पालिका एक उपलब्धिका रूपमा लिएका छौं । अब बैंकसँग समन्वय गरी भेरीखोलामै बैंक स्थापना गर्ने विषयमा पहल थाल्ने छौं । त्यसपछि त्यहाँका ज्येष्ठ नागरिकलाई भक्ता बुझ्न पालिका आउने झन्झट पनि अन्त्य हुनेछ ।’
थलाले टावर संचालन तथा र भेरीखोला क्षेत्रलाई संचार पहुँचमा पुराउन विशेष गरी संचार मन्त्री रेखा शर्मा, प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र बहादुर शाही, छिरिङ लामा, प्रदेश सांसद देवेन्द्र बहादुर शाही र स्वम पालिका अध्यक्ष चौलागाँई नियमित खटिएका थिए । तातोपानी ७ नम्बर वडाध्यक्ष तिलक रावतले ढिलै भएपनि भेरीखोलाका नागरिकले संचार सेवाको पहुँचमा पुगेको बताए । उनका अनुसार भेरीखोला क्षेत्रका दर्जनौ गाउँका हजारौ नागरिक संचार सेवा सुरु भएपछि उत्साहित छन् ।
साथै दुर्गम भेरीखोला क्षेत्रलाई संचारको पहुँचमा पुराउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने सम्पूर्ण निकाय तथा व्यक्तिलाई तातोपानी गाउँपालिकाले बधाई तथा धन्यबाद समेत ज्ञापन गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनका अनुसार भेरीखोलाबासीका लागि मात्र नभई दुर्गम क्षेत्रका नागरिकले संचार नहुदा भोग्नु परेको सास्तीबाट मुक्ति पाउनु पालिकाकै खुसी कुरा हो । कारोबार दैनिकबाट