पर्वत। दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा निर्माण गरिएको सेतीखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको छ । पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण गरेको ३ दशमलव ५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाको काम हालै सम्पन्न भएको हो । आयोजनाले सोमबारदेखि परीक्षण समेत थालिसकेको छ ।
२०७५ सालदेखि निर्माण सुरु भएको आयोजनको काम पाँच वर्षमा सकिएको हो। यो आयोजनाको मुहान पैंयुँ गाउँपालिका–२ वेउलीवासको छचन्नेमा रहेको छ भने विद्युतगृह विहादी गाउँपालिका–६ शालिग्रामको घाङ्ग्रेमा रहेको छ । छचन्नेदेखि तीन हजार ६ सय मिटर लामो पाइपलाइनमार्फत घाङ्ग्रेमा रहेको पावरहाउमा पानी खसालिएको छ । आयोजनाको इलेक्ट्रोमेकानिकल काम चाइनाको एशियन प्यासिफक प्रोजेक्ट कम्पनीले गरेको थियो भने पाइपलाइनको काम के एण्ड के बिल्डर्स विराटनगरले गरेको हो ।
आयोजनको शिभिल वर्कतर्फको निर्माणकार्य द ब्रोदर्श बिल्डर्स काठमाडौंले गरेको पर्वत पैंयुँखोला हाइड्रोपावर कम्पनीका सचिव डा. शिवशंकर बस्यालले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणबाट वि।सं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको आयोजनाले दुई वर्षभित्र उत्पादन गर्ने अवधि भए पनि कोरोना संक्रमण र बाढी पहिरोका कारण समयावधि दुई वर्ष थप गरिएको थियो। ‘झण्डै पाँच वर्षको अवधिमा निर्माणकार्य सम्पन्न गर्यौं,’ बस्यालले भने ।
यो आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि प्राधिकरणसँग पिपिए सम्झौतासमेत भइसकेको उनले बताए । अबको दुई साताभित्र राष्ट्रिय प्रशारण लाइनमा जडान गरिने तयारी भइरहेको बस्यालले बताए । यो आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेड र गरिमा बिकास बैंकको संयुक्त लगानी रहेको छ । हालसम्म आयोजना निर्माणका लागि एक अर्ब १० करोड रुपैया खर्च भइसकेको आयोजनाका सचिव बस्यालले जानकारी दिए ।
यसैबीच सोमबारदेखि परीक्षण उत्पादन थालेको आयोजनाले घाङग्रे–लुंखु प्रशारण लाइनको ३३।११ केभीए प्रसारण लाइनमा परीक्षण थालेको पैंयुँखोला हाईड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष राजकुमार बस्यालले जानकारी दिए । आयोजनाले परीक्षण अवधिभर महाशिला गाउँपालिकाको वडा नं. १, ३ र ५, पैँयु गाउँपालिकाको वडा नं. १ र ३ एवं विहादी गाउँपालिकाको वडा नं. ६ मा रहेको प्रसारणलाइन, पोल खम्बा आदि नछुन, टाढा हुन र सावधानी रहन अनुरोध गरेको छ । कारोबार दैनिकबाट