बुटवल। बुटवलको कालिका नगरमा चार लेन सडकको बीचमा बिजुलीको हाइटेन्सन लाइनको लागि ल्याटिक टावर हटाएर एक खम्बे मोनोपोल राख्ने प्रक्रिया सुरु भएको छ । त्यसको लागि आइतबारदेखि माटो परीक्षणको काम सुरू भएको विद्युत प्राधिकरण योगी कुटी शाखाका इन्जिनियर सूर्य पाण्डेले बताए ।
‘चार वटा ल्याटिक टावर हटाएर मोनो पोल राख्दैछौं । फिल्डमा प्रक्रिया सुरु भएको छ,’उनले भने,‘सडकको सुन्दरता र सडकको चौडालाई हेरेर चार वटालाई रिप्लेस गर्दै छौं ।’ यसअघि दुई लेन रहेको कालिका पथको सडक अहिले चार लेनको भएको छ । तर ल्याटिक टावर भएको स्थानमा सडक केही साँघुरो छ । सवारी साधनहरूलाई ओहोर दोहोर गर्न केही असहज भएको छ । टावरले सडकको सुन्दरतालाई पनि बिगारेको छ ।
पहिलेदेखि नै स्थानीय अगुवा र जनप्रतिनिधिहरूले बजारबाट विद्युत हाइटेन्सन टावर सार्न माग गरेका थिए । अहिलेको ल्याटिक टावर हटाएर मोनो पोल राख्दा सडक सहज हुन्छ । सडकमा थोरै ठाउँ मात्र लिन्छ । हाइटेन्सन पोल परिवर्तनसँगै त्यसको तार पनि केही माथि सर्ने इन्जिनियर पाण्डेले जानकारी दिए । ‘अहिले ग्राउन्डदेखि लाइनसम्मको उचाइ ५ दशमलव ५ मिटर मात्र छ । त्यो जोखिम हो । ट्रकहरूले छोयो भने धेरै क्षति हुन सक्छ,’उनले भने,‘अब नौ मिटरसम्म उचाइ हुने गरी पोलको डिजाइन बनाएका छौं ।’
मोनो पोल भारतबाट ल्याउनुपर्ने प्राधिकरणको भनाइ छ । विद्युत टावर फेरेर पोल राख्ने काम जाडो महिनाभित्र सक्ने योजना बनाइएको प्राधिकरणले जनाएको छ । पोल परिवर्तन गर्दा विद्युत अवरुद्ध गर्नुपर्ने हुन्छ । गर्मीमा विद्युत अवरुद्ध हुने गरी काम गर्दा स्थानीय आक्रोसित हुने भएकाले जाडोमै सक्ने योजना बनाएको इन्जिनियर पाण्डेले बताए ।
‘जाडो महिनामा लाइन काट्दा उपभोक्तालाई चित्त बुझाउन सकिन्छ । गर्मीमा लाइन काट्दा धेरै कठिन अवस्था आउँछ,’उनले भने,‘गर्मीमा पंखा कुलर बिना बस्न गाह्रो हुँदा स्थानीय आक्रोशित हुन्छन्। धेरै समय नलाग्ने गरेर काम गर्नुपर्ने छ ।’ टावर हटाएर मोनो पोल राख्दा बुटवल पश्चिम कपिलवस्तुको मोतिपुरसम्म विद्युत अवरुद्ध हुने अवस्था आउँछ । त्यस बेला सकभर कम समय मात्र विद्युत आपूर्ति बन्द गर्ने प्रयास गर्ने इन्जिनियर पाण्डेले बताए । कारोबार दैनिकबाट