म्याग्दी। जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालका निर्माणाधीन भवन अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत मंगला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।
धौलागिरि–७ ताकममा पाँच र मंगला–५ हाँडेभीरमा १० शैया क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अधुरो बनेको हो । ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आईएस एसी जेभी बुर्तिबाङ बागलुङले भुइँ ढलान गरेर पिल्लरमात्रै उठाएर कामलाई अधकल्चो बनाएको धौलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।
‘स्थानीयस्तरमा कुनै विवाद र समस्या छैन, निर्माण व्यवसायीलाई काममा फर्कन पटकपटक आग्रह गरेका छौं, केही दिनमै काममा फर्कने प्रतिबद्धता आएको छ,’ उनले भने । ताकममा अस्पताल भवन बनाउन चार करोड ८८ लाख ७२ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको २० प्रतिशत भौतिक प्रगति भएको छ । भवन निर्माण गर्ने समय व्यतीत गरेको उक्त कम्पनीलाई १२औं संशोधन नियमावली अनुसार एक वर्षका लागि म्याद थप भएको थियो ।
दुई तले अस्पताल भवनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि दीपक अढाईले बजेटको सुनिश्चितालगायतका विविध कारणले आफूले समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै पालिकाको नेतृत्वमा सबै समस्या हल भएकाले अब छिट्टै कार्यक्षेत्रमा फर्कने बताए । उनले निर्माण सामग्री, मेसिन उपकरण तथा जनशक्ति व्यवस्थापनमा जुटेको जनाउँदै एक सातामै कार्यक्षेत्रमा काम सुरु हुने जानकारी दिए ।
मंगला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । भवनको र्याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ । पिल्लरको संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ ।
अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौंसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा नौ करोड ११ लाखमा ठेक्का सम्झौता भएको थियो । मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरूबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिए । पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
यस भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ । पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । रघुगंगा गाउँपालिका–१ बेगमा निर्माण हुने भनिएको अस्पताल योजना विवाद र जग्गा व्यवस्थापनको समस्याले अझै शिलान्यास हुन सकेको छैन । कारोबार दैनिकबाट