महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कभर्ड हल निर्माण सुरु भएको ६ वर्ष बितिसक्दासमेत पूर्णता पाएको छैन । विसं २०७४ सालबाट बनाउन थालिएको उक्त हल निर्माण पूरा नहुँदै जीर्ण बन्दै गएको छ ।
स्थानीय मनोज बस्नेतले कभर्ड हलको भवन, प्यारापिट निर्माण भएको बताए । उनले भने, ‘प्लास्टर गर्नमात्रै बाँकी छ, तर यतिका समय बितिसक्दा कभर्ड हल बनेको छैन, काम पूरा नहुँदै भवन जीर्ण बन्दै गएको छ ।’ त्यसैगरी दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले वि।सं २०७४ सालमा उनै थापा नेतृत्वको उपभोक्ता समितिले कभर्ड हल निर्माणको काम अघि बढाएको बताए ।
उनले भने, ‘सुरुवातमा संघीय सरकारबाट खेल मैदान तथा मिनी कभर्ड हल निर्माणका लागि १० लाख बजेट आएको थियो, उक्त बजेटबाट जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्ने काम गरियो भने, त्यसपछि चाहिँ बजेट नै आएन ।’ हाम्रो उपभोक्ता समितिबाट काम भएन, कभर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०७७।०७८ सालमा ५० लाख बजेट विनियोजिन भएको थियो भने उक्त बजेरबाट ३७ लाख १७ हजारमा कञ्चन राष्ट्रिय निर्माण सेवाले कभर्ड हल निर्माणको कामअघि बढाएको नगर प्रमुख लिम्बूले बताए ।
स्थानीय दिलबहादुर सिंहले बजेट नआउँदा कभर्ड हल निर्माण अलपत्र रहेको बताए । उनले भने, ‘दोधारा चाँदनी क्षेत्रका लागि महत्वपूर्ण खेल संरचनाका रुपमा हेरिएको कभर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका छन् भने अब थोरै बजेटले उक्त कभर्ड हल बन्थ्यो होला ।’ यस क्षेत्रका खेलाडीलाई कभर्ड हल नहुँदा समस्या छ भने, इन्डोर खेल हुन सकेका छैनन् । सरकारले सुरुवाति चरणमा लगानी गरेर अहिले बेवास्ता गर्दा लगानी नै खेरजाने अवस्था सिर्जना भएको स्थानीय सिंहले बताए । सिंहले कभर्डले पूर्णता नपाउँदा ठूलो लगानी नै खेर गइरहेको बताए ।
नगर प्रमुख लिम्बूले कभर्ड हललाई पूर्णता दिन स्थानीय तहको बजेट अपुग रहेको बताए । उनले भने, ‘हामीसँग पर्याप्त बजेट छैन । स्थानीय तहमा आउने बजेट घटेर आइरहेको छ्, त्यसैले अहिले कभर्ड हलमा बजेट विजियोजन गर्न सकेका छैनौं, कभर्ड हललाई पूर्णता दिन बजेटका लागि प्रदेश र संघ सरकारसँग पहल गरिरहेका छौं,’ उनले भने, ‘कभर्ड हलका लागि एसियाली विकास बैंकसँग पनि बजेट माग गरेका छौँ ।’ प्रदेश र संघ सरकारसँग पनि पहल गरिरहेको उनले बताए । बजेट विनियोजन गर्ने आश्वासन पाएको र चाँडै कभर्ड हलको कामले पूर्णता पाउने विश्वास रहेको नगर प्रमुख लिम्बूले दाबी गरे। कारोबार दैनिकबाट