काठमाडौँ। सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र गतिमा अगाडी बढेको छ। कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको हो।
मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दामाथि पुगेको जानकारी दिए।
उनका अनुसार पछिसम्मका लागि काम लागोस् भन्ने हिसाबले निर्माण गरिएका एकतले भवन पूरा गर्ने काम भइरहेको छ, नयाँ निर्माणलाई पनि सँगसँगै अगाडी बढाइने भएको छ, विनियोजित रकम भने हालसम्म ५० प्रतिशत मात्र उपलब्ध भएको छ।
सरकारले नेपाल–भारत सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकड्भिट्टा, मोरङको रानी, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, नेपालगञ्जको बाँके र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बढाउने निर्णय गरेको थियो। रुपन्देहीको बेलहियामा भने हालसम्म जग्गा प्राप्ति नभएको कारण काम अघि बढन नसकेको रक्षा मन्त्रालयले बताएको छ।
उक्त परियोजना रु दुई अर्बको लागतमा निर्माण सम्पन्न गर्ने उद्धेश्य राखिको छ। परियोजनाका लागि अहिलेसम्म ५० प्रतिशत मात्र रकम उपलब्ध भए पनि एक तल्लाका भवन एकपछि अर्को गर्दै लगातार बनाइएकाले अत्यावश्यक परेको खण्डमा अहिले नै प्रत्येकमा २०० जनालाई राख्न सक्ने अवस्थामा निर्माण भइसकेको छ।