चितवन। लामो समयदेखि सुस्त गतिमा रहेको पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढाइएको छ। भरतपुर महानगरको गौरवको परियोजनाको रूपमा रहेको सडकको काम महानगरको निर्देशनसँगै द्रुत गतिमा अघि बढाइएको हो ।
मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी आफैले सक्रियता देखाउँदै पटक–पटकको निर्देशनमा महागरनगरमा भौतिक पूर्वधारको कामलाई तीव्र पारिएको छ । महानगरमा ६ लेन सडकसँगै सिटि हल, महानगर प्रशासनिक भवन, भित्री सडक, रिङरोड लगायतका काममा मेयर उपमेयर दुवैको निगरानी बढेसँगै निर्माणले गति लिएको हो । भरतपुरको मुख्य प्रवेशद्वार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीव्ररूपमा काम अगाडि बढेको छ ।
२० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरिसक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न अनुरोध गरिएको उनको भनाइ छ ।
भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भने, ‘हामी काम गर्दै हुनुहुन्छ भनेका थियौं, तर काम साह्रै ढिलो र जनताका गुनासा दैनिक बढेको बढ्यैछ, अहिले मेयर साबको निर्देशनसँगै सबैको ध्यान निर्माण व्यवसायीलाई सक्रियता गराउँदै छिटो सम्पन्न गराउने तर्फ छ ।’ सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको अन्तिम कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ ।
यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भइसकेको छ । भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भए पनि मुख्य सडक, मुग्लिन–नारायणगढ सडक, नारायणगढ–पुलचोक सडक निर्माणको क्रममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ । निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाइनल कालोपत्रे र रङ रोगनको काम गर्ने अघि बढेको छ । निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए । फागुनको पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेको भनाइ छ ।
पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुंगनाका अनुसार सडकको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । यस्तै लायन्स चोकदेखि रोटरी भवनसम्म सब ग्रेड गर्ने कार्य सुरु भइरहेको छ भने फागनुको दोस्रो सातासम्म (डिबिएम फस्ट लेयर) पहिलो चरणको कालोपत्रे भइसक्ने ढुंगानाले बताए । कारोबार दैनिकबाट