झापा। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन। प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा ०७७ साल फागुन १६ गते शिलान्यास गरेका थिए।
तर, ओलीले प्रक्रिया पूरा नगरी शिलान्यास गर्दा नौ महिनासम्म काम नै सुरु भएको छैन। ओलीले तत्कालीन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए। अहिले बोर्डले करिब ६५ अर्ब बजेट स्वीकृत गरिसकेको छ। २१ बिघा क्षेत्रफलमा बन्ने औद्योगिक पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले निर्माण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए।
लगानी बोर्डले ढिलाई गर्दा काम सम्पन्न हुन नसकेको अध्यक्ष बस्नेतले जानकारी दिए। उनका अनुसार लगानी बोर्डले विस्तृत योजना सम्झौतामा ढिलाई गर्दा फिल्डमा काम हुन सकेको छैन। चिनियाँ टोलीले फिल्डमा माटो परीक्षणको काम पनि सकेको छ, अब प्रोजेक्ट डिटेल एग्रिमेन्टका लागि लगानी बोर्डमा छ।
लगानी बोर्डले जति चाडो गर्यो त्यति नै छिटो भौतिक संरचनाको काम पनि सुरु हुने उनले जानकारी दिए। जग्गा व्यवस्थापनको काम भइसकेको छ। अब लगानी बोर्डले पीडिएको काम जति छिटो गर्यो त्यति छिटो काम हुन्छ। लगानी बोर्डले काम सकेपछि मात्र चिनियाँ कम्पनीले काम गर्ने उनले बताए।
लगानी बोर्डले पहिल्यै सक्नुपर्ने भएको भएतापनि अझै २/३ महिना लाग्ने भएको छ। यदी बोर्डले ढिलाइ गरे चिनियाँ कम्पनी फर्कन पनि सक्ने उनले चेतावनी दिए। सरकार परिवर्तन भएसँगै पुरानो सरकारले गरेका कुनै पनि काम अघि बढेको छैन।
ओलीको निर्वाचन क्षेत्रस्थित दमक, कमल र गौरादहको संगमस्थल रतुवा नदीको बगरमा बन्ने औद्योगिक पार्क निर्माण हुनेछ। ओलीले शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ। त्यो क्षेत्रमा निर्माणको नाममा ओलीले शिलान्यास गर्दाको स्तम्भव मात्र छ।