म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा ६ वटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यस नदीमा मिसिन आउने अन्य सहायक खोलामा ६ जलविद्युत आयोजना निर्माणाधीन छन् ।
रघुगंगा गाउँपलिकाभित्र अनुमति लिएर ६ वटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए। रघुगंगा हाइड्रोपावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६५ प्रतिशत काम सकेको छ । यस नदीमा तुदी पावरले चिमखोला, पाखापानी र कुइनमंगले क्षेत्रमा ३५ मेगावाट क्षमताको राहुघाट–मंगले जलविद्युत आयोजना र चिमखोला, झिँ, पाखापानी र दग्नामा ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छन् ।
रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रालिले वडानम्बर ७ को चिमखोला र ८ कुइनमंगलेमा २१.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माणाधीन छ । त्यस्तै प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगंगा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत आयोजनाको निर्माण सुरुवात गर्न स्थानीयसंँग छलफल गरेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो । रघुगंगा–८ कुइनेमंगलेमा ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना अघि बढाएको छ ।
रघुगंगाको सबैभन्दा माथिल्लो भागमा समेत विद्युत निकाल्नका लागि अध्ययन भइरहेको छ । ऊर्जा खोलामा परिणत हुन थालेको रघुगंगा नदीले विकट गाउँमा सम्भावना र अवसरको ढोका खोलिदिएको रघुगंगा गाउँपालिका–७ का वडाध्यक्ष थगबहादुर पाइजाले बताए । निर्माणाधीन जलविद्युत आयोजनाले वातावरणीय परीक्षणअनुसार स्थानीयबासीलाई वितरण गर्नुपर्ने रकम नदिएको उल्लेख गर्दै यस विषयमा जलविद्युत आयोजनालाई जानकारी गराएको बताए ।
राहुघाट नदी आसपास पर्ने पिप्ले, दग्नाम, दर्मीजा, झिँ, पाखापानी र कुइनेमंगलेमा निर्माणाधीन ६ वटा जलविद्युत आयोजनाले जनताको अपेक्षाअनुसार गुणस्तरीय विकासको काम र सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकलाई जग्गाको क्षतिपूर्ति दिन बेवास्ता गरेको वडा नम्बर ४ का वडासदस्य चित्रबहादुर गर्वुजा र ८ का वडासदस्य अगेन्द्र छन्त्यालले बताए । जलविद्युतले सडक सुविधा उपलब्ध गराए पनि स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीयलाई आवातजावतमा सास्ती भएको उल्लेख गरे ।
त्यस्तै जलविद्युतसम्बन्धी युवालाई तालिम र सीप उपलब्ध गराएर जलविद्युत आयोजनामा काम गर्ने वातावरण बढाउनतर्फ गाउँपलिकाले ध्यान दिनुपर्ने पिप्लेका युवा रमेश गुरुङले बताए । पालिकाभित्र निर्माणाधीन जलविद्युत आयोजनालाई स्थानीयबासीले उठाएको गुनासो अनुसार सडकको स्तरोन्नति, जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन र सामाजिक उत्तरदायित्वको काम गर्नका लागि आयोजनालाई ताकेतासँंगै पत्राचार गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । कारोबार दैनिकबाट