काठमाडौं। ४२ मेगावाट क्षमताको सुपर तल्लो वाग्मती जलविद्युत आयोजनालाई निर्माण अनुमति दिने तयारी भएको छ। गत असारमै निर्माण अनुमतिका लागि निवेदन दिएको आयोजनालाई हाल निर्माण अनुमति दिन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरेको हो।
आयोजनाले प्रस्ताव गरेको स्विकृत वातावरणीय प्रभाव मूल्यांकन अनुसार आयोजना निर्माण र सञ्चालन गर्दा आयोजना स्थल वरपर वातावरणीय प्रभाव पर्ने देखिएमा ३५ दिन भित्र सुझाव दिन सरोकारवालहरुलाई विभागले अनुरोध गरेको छ।
नदि प्रवाहमा आधारित आयोजनाको ऊर्जा उत्पादन स्रोत भने काठमाडौंबाट बग्ने ढल मिसिएको पानी हो। कुलेखानी नदिको पानी मिसिने भए पनि हिउँदमा कुलेखानीको सबै पानी रिजर्भमा राखिएको हुन्छ।
सुपर वाग्मती हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरिरहेको तल्लो वाग्मती आयोजनामा साढे ६ किलोमिटर मुख्य सुरङसहित ८ किलोमिटरभन्दा बढी सुरुङ मार्ग रहने छ। विद्युत गृह मकवानपुरको वाग्मती गाउँपालिकाको बेतिनी र फापरबारी क्षेत्रमा रहने आयोजनाले बताएको छ।
आयोजनाबाट उत्पादित विद्युत भने २८ किलोमिटर टाढा रहेको चन्द्रनिगाहापुरस्थित सवस्टेशनमा जोड्नेगरी ग्रीड कनेक्सन एग्रिमेन्ट गरिएको छ। आयोजनाको समग्र लागत साढे आठ अर्ब रुपैयाँ हाराहारी पुग्ने अनुमान छ।
आयोजनाबाट वार्षिक एक अर्ब ६० करोड रुपैयाँ हाराहारीको विद्युत उत्पादन हुने देखिन्छ। अहिले विद्युत प्राधिकरण निजी क्षेत्रका आयोजनाहरुसँग सुक्खायामको बिजुली प्रतियुनिट ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँको दरले खरिद गर्ने गरी पीपीए गर्दै आएको छ।
२०७४ मा सर्वेक्षण अनुमति पाएको आयोजनाले अध्ययनको सबै काम सकेर आयोजना निर्माणको चरणमा पुगेको हो। आयोजनाबाट उत्पादित विद्युत खरिद सम्झौता (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणसँग पहल गरिरहेको आयोजनाले वित्तीय व्यवस्थापनका लागि समेत बैंकहरुसँग छलफल गरिरहेको बताएको छ।