बिर्तामोड। झापाको हल्दीबारी गाउँपालिकालाई काठको पुलमुक्त गाउँपालिका बनाइने भएको छ । आफू अध्यक्षमा निर्वाचित भएसंँगै हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले हल्दीबारी गाउँपालिकालाई काठको पुलमुक्त बनाउने घोषणा गर्दै काम अघि बढाउँदै हल्दीबारी गाउँपालिकाभित्र रहेका परम्परागत काठको पुल विस्थापित गर्ने अभियानलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा ल्याएका थिए ।
सबैभन्दा धेरै काठको पुल भएको गाउँपालिकाको रूपमा परिचित हल्दीबारी गाउँपालिकामा काठको पुल विस्थापित गरी सो ठाउँमा १२५ वटा कल्भर्टसहित पक्की पुल निर्माण सम्पन्न गरेको अध्यक्ष लिङ्देनले जानकारी दिए ।
आठ करोड ५० लाख रुपैयाँको लागतमा कल्भर्टसहित १२५ वटा पक्की पुल निर्माण सम्पन्न भएको उनले बताए । हल्दीबारी गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा सबैभन्दा धेरै पक्की पुल निर्माण सम्पन्न भएको उनले बताए ।
धनुषा आधारभूत बिद्यालयको पश्चिम हल्दीबारी १ र ५ को सिमानाको भुतेनी खोला, लक्ष्मी माध्यमिक विद्यालय पूर्व हल्दीबारी २ र ३ को सिमाना र हल्दीबारी–३ को जंगल र आवधि सडकको भुसेनी खोलाको पक्की पुल निर्माणाधीन अवस्थामा रहेको योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए ।
निर्माणाधीन तीनवटा पुल निर्माण सम्पन्न भएकोभन्दा ठूला रहेको बताउँदै उनले आगामी मंसीरसम्ममा सम्पन्न गर्ने गरी चार करोड ६७ लाख रुपैयाँमा तीनवटै पुल निर्माणको सम्झौता भएको जनाए ।
तीनवटा पुल निर्माण सम्पन्न भएपछि काठको पुल विस्थापित गाउँपालिका घोषणा हुने उनको भनाइ छ । हल्दीबारी गाउँपालिकाको बजेटले सम्भव भएका पुल स्थानीय सरकार र बाँकी पुल प्रदेश तथा संघीय सरकारको बजेटबाट नै बनाइने र गाउँपालिकाका अध्यक्ष लिङ्देनले बताए ।
हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ९महेन्द्र० ले यस वर्ष पालिकाले बहुवर्षीय आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिएको बताए । हल्दीबारी गाउँपालिकामा भरपर्दो र सुरक्षित आवतजावतका लागि काठको पुललाई विस्थापित गरिएको उनको भनाइ छ । कारोबार दैनिकबाट