काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर
ध्यानाकर्षण पत्र बुझाएको हो ।
अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डलले पार्टीले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका माग एकीकृत गरी प्रधानमन्त्री समक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
एमालेको ध्यानाकर्षण पत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको पनि मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषय सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन्।
ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए। यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने बताएको समेत ज्ञवालीले जानकारी दिए ।
ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् ।