खोटाङ। खोटाङ जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा भाडादर घटाइएको हो।
सञ्चालित बस, सुमो, अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको पालिकाले जनाएको छ। पहिलो चरणमा बसको एकतर्फी भाडा रु तीन सय १० सम्म घटाइएको छ। भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक–एकजना, उद्योग वाणिज्य सङ्घ, ट्राफिक प्रहरी, पत्रकार महासङ्घ, नागरिक समाज, १० वटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायीरूपमा निरन्तरता दिने निर्णय गरिएको पालिकाले जनाएको छ।
बसमा दिक्तेल–खुर्कोट रु नौ सय ५०, दिक्तेल–काठमाडौँ रु एक हजार तीन सय, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको रु एक हजार, दिक्तेल–इटहरीको रु एक हजार तीन सय, दिक्तेल–धरान रु एक हजार तीन सय ५० र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी रु एक हजार, दिक्तेल–मिर्चैया रु एक हजार एक सय, दिक्तेल–लहान रु एक हजार दुई सय, दिक्तेल–इटहरी रु एक हजार चार सय ५०, दिक्तेल–धरान रु एक हजार पाँच सय, दिक्तेल–विराटनगर रु एक हजार पाँच सय ५० र दिक्तेल–काँकडभिट्टा रु एक हजार सात सय ५० नयाँ भाडार कायम गरिएको छ ।
दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा रु पाँच सय ५०, दिक्तेल–भोजपुर रु आठ सय, दिक्तेल–मानेभन्ज्याङ रु पाँच सय ३०, दिक्तेल–रोक्सिम भन्ज्याङ रु छ सय, दिक्तेल–खोटाङबजार रु सात सय भाडादर तोकिएको छ ।