काठमाडौं। म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको काम हालसम्म ३५ प्रतिशत सकिएको छ। भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण लगानीमा निर्माण भइरहेको सो आयोजनाको विद्युत सहज रुपमा भारत निर्यात गर्न सकिने विश्वास गरिएको छ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरिरहेको आयोजनाले हाल भर्टिकल साफ्टको लागि थप जग्गा अधिग्रहणको काम गरिरहेको जनाइएको छ। सो आयोजनाले पहुँच मार्ग विस्तार र भर्टिकल साफ्ट निर्माणका लागि थप १३ रोपनी जग्गा अधिग्रहण गर्न लागेको रघुगंगा हाइड्रोपावर कम्पनीका प्रबन्धकले जानकारी दिएका छन्।
२०६६ मै निर्माण सुरु भएको सो आयोजना निर्माणको काम २०७१ देखि रोकिएको थियो। लामो समय सम्म निर्माण रोकिएको आयोजनाको काम विद्युत प्राधिकरणमा कुलमान घिसिङ आएपछि २०७६ बाट पुनः सुरु गरिएको भएपनि कोभिड–१९ महामारी र बाढी पहिरोका कारण आयोजनाको कामले गति लिन सकेको छैन्। हाल आयोजना स्थलमा करिब ४५० जना कामदारले काम गरिरहेका छन्। आयोजनाको बाँध, सुरुङमार्ग र विद्युत गृहमा एक साथ काम भइरहेको जनाइएको छ।
सो आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फको कामको ठेक्का भारतीय कम्पनीलाई नै दिइएको छ। भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण भइरहेकाले ठेकेदार परिचालन देखि निर्माणका धेरै काममा भारतीय बैंकले भने अनुसारनै निर्माणको काम अघि बढिरहेको छ। हाल आयोजनाको ६.२ किलोमिटर मुख्य सुरुङमार्गमध्ये २.१ किलोमिटर सुरुङ र १ हजार मिटर पेनस्टक टनेल मध्ये ३१० मिटर खनिसकिएको छ भने ५५ मिटर सर्ज साफ्टको काम भने पुरै सकिएको आयोजना सञ्चालकले जानकारी दिएका छन्।
चार घण्टा दैनिक पिकिङ गर्न सकिने राहुघाटबाट वार्षिक रुपमा २५० गिगावाट आवर ऊर्जा उत्पादन हुने जनाइएको छ। आउँदो दुई वर्षभित्र आयोजनाको बाँकी काम सक्ने लक्ष्य रहेको छ। हाल भारतले आफूले लगानी गरेका आयोजनाको विद्युत मात्रै किनिरहेको कारण भारतीय लगानी र भारतीय ठेकेदारलेनै निर्माण गरिरहेको आयोजना भएकोले सो आयोजनाबाट उत्पादित हुने विद्युत भारत निर्यात गर्न धेरै सहज हुने अनुमान गरिएको छ।
स्वदेशी लगानीमै निर्माण भए पनि चिनियाँ ठेकेदारले बनाएको माथिल्लो तामाकोशीको बिजुली भने भारतले किन्न आनाकानी गरिरहेको छ। तर भविष्यमा नयाँ व्यवस्था नभएको खण्डमा पनि भारतीय लगानी र ठेकेदार भएका कारण राहुघाटको बिजुली भने भारतले सजिलै किन्न सक्ने देखिएको छ।