दोलखा। खिम्ती–२ जलविद्युत आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत भएको छ। निजी क्षेत्रबाट निर्माणाधीन ४८.८ मेगावाटको आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको हो।
आयोजनाको सबैभन्दा जटिल रहेको सुरुङ निर्माण र मुहानमा नदी फर्काउने बाँधको कामलाई अहिले तीव्रता दिइएको छ।
अहिले आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायत सबै क्षेत्रको काम समान रूपले अघि बढेको छ । आयोजनामा मुख्य सुरुङसहित विभिन्न स्थानमा करिब ८३०५ मिटर सुरुङ निर्माण गर्नुपर्छ । त्यसमध्ये, मुख्य पानी बग्ने सुरुङ, सार्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङसहित अब मुख्य सुरुङको काम अहिलेसम्म ६ हजार ६ सय ३० मिटर पूरा भएको प्रवद्र्धक कम्पनी पिपुल्स इनर्जी लिमिटेडले जनाएको छ।
आयोजनाको सबै क्षेत्रमा दैनिक ६ सय बढी मजदुरले काम गर्दै आएको कम्पनीले जनाएको छ । आयोजनामा ७० प्रतिशत बढी स्थानीय कामदार रहेका छन् । स्थानीय तहमा लगानीको अवसरसँगै रोजगारी, सडक, पुल, विद्यालय लगायत स्थानीय सामाजिक विकासमा पनि आयोजनाले सहयोग गरेको छ ।
२२ वर्षअघि नै निर्माण भई सञ्चालनमा रहेको ६० मेगावाटको निजी क्षेत्रकै ठूलो खिम्ती–१ को केही माथि खिम्ती–२ निर्माण भइरहेको छ ।
८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुने जनाइएको छ ।