काठमाण्डौं। बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।
लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण सुरु गरिएको थियो।
एकैपटकमा यति धेरै सङ्ख्यामा मानिस बस्न मिल्ने हल बहुउपयोगी हुने बताइएको छ। अत्यन्तै आकर्षक स्वरुपमा बनाउन सुरु गरिएको सभाहल तथा ध्यान केन्द्रको छानो गोलाकार आकारमा डिजाइन गरिएको छ। आठ हजार ३०० वर्गमिटरमा फैलिएको ध्यान केन्द्र रहेको छ।
यसलाई सात डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ। १० मिटर गहिराइका १४० वटा पाइल फाउण्डेशन बनाइएको छ। उक्त हल तथा ध्यान केन्द्रको पहिलो चरणको आयोजनाअन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो। दोस्रो चरणको काम ३३ करोड लागतमा निर्माणाधीन छ।
सभाहलको शिलान्यास विसं २०७५ वैशाख पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकिथिइन। सभाहलमा आठवटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकैपटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन पनि गरिने छ।सभाहल तथा ध्यान केन्द्रको मुख्यद्धारमा छ फिट अग्लो बुद्धमूर्तिसमेत राखिने छ। भिआइपी पाकिङ रहने र उक्त पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आउनुभएको थियो। तर अकस्मात आएको हाबाहुरीसहितको पानीले उक्त अस्थायी हल भत्कँदा कार्यक्रमसमेत प्रभावित हुन पुग्यो। त्यति नै बेला तत्कालीन प्रधानमन्त्री ओलीले लुम्बिनीमा एक स्थायी सभाहल र त्यहीँ रहने गरी ध्यान केन्द्र निर्माण गर्ने घोषणा गर्नुभएको र त्यसपछि हल निर्माणले गति लिएको हो।
गत बिहीबार लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले उक्त हलको निरीक्षण गरेकिथिइन। त्यस अवसरमा उनले राम्रो हल तयार हुन लागेकामा खुशी पनि व्यक्त गरिन।