चितवन। भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते हुने भएको छ। भरतपुर महानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले नारायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा फागुन १८ गते भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो ।
महानगरभित्रका वडाबाट ¥याली र झाँकीसहितको टोली विभिन्न स्थानमा जम्मा भइ नदी किनारमा पुग्ने गरी तालिका बनाइएको छ । भरतपुरको चौबीसकोठी, हाकिमचोक, त्रिचोक, बेलचोक, गेष्टहाउस चौर र क्याम्पा चौरमा भेला भएर हात्तीसहितको झाँकी नदी किनार पुग्ने छ ।
भ्रमण वर्षको उद्घाटन अघि नदी किनारमा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रिय कलाकारले साँझसम्म आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन् । भ्रमण वर्षका लागि भरतपुर महानगरभित्र सात वटा मुख्य र २१ वटा अतिरिक्त गन्तव्य निर्धारण गरी प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो ।
भ्रमण वर्ष सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति, प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य छन् ।