तनहुँ। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्य २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ।
हाल आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–१ र प्याकेज–२ अन्तर्गत् २८ वटा सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म २५ वटा सुरुङ तयार भइसकेका छन् भने बाँकी ३ वटाको काम भइरहेको छ ।
प्याकेज–२ अन्तर्गत विद्युतगृह कङ्क्रिटिङ, ट्रेलरेस कङ्क्रिटिङ, केबल सुरुङ कङ्क्रिटिङ, ड्राफ्ट ट्युव सुरुङ कङ्क्रिटिङको काम चलिरहेको आयोजनाले जनाएको छ । यो प्याकेजमा भूमिगत विद्युतगृहमा मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कार्यहरू भइरहेका छन् ।
आयोजनाको मुख्य बाँध निर्माण स्थलमा अस्थायी बाँध निर्माण कार्य तीव्र बनाइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीमा मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी नदीको पानी फर्काइएको छ । डाईभर्सन सुरुङ मार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रबाट पुनः सेती नदीमा खसालिएको छ ।
आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्र बनाइएको आयोजनाले जनाएको छ।
प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन नेपाल जेभीसँग विसं २०७८ भदौ १४ गते ठेक्का सम्झौता गरी कार्यान्वयनमा आएको थियो । निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड काट्ने कार्य गरिरहेको छ ।
प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतको केइसी इन्टरनेशनल लिमिटेडले काम गरिरहेको छ ।