बागलुङ। मध्यपहाडी लोकमार्गको काठेखोला खण्ड निर्माणमा ढिलाइ गरेको र धुलाम्मे सडकले आफूहरुलाई सास्ती भएको भन्दै यहाँका बासिन्दाले सडक बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । वर्षौदेखि सडक नबन्दा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकले आफूहरुलाई सास्ती भएको उनीहरुको भनाइ छ । उनीहरुले तत्काल सडकको काम नथालिए लोकमार्ग बन्द गरेर आन्दोलनको थालनी गर्ने चेतावनी दिएका हुन् ।
बागलुङको काठेखोलामा मात्रै लोकमार्गको २० किमी सडक पर्छ । यो खण्ड वर्षौदेखि जीर्ण छ । २६ वर्षअघि ग्रामीण सडकको रुपमा खुलेको यो सडक लोकमार्गमा सूचीकृत भएपछि झनै जीर्ण भएको छ । लोकमार्गले खनेर छाडेपछि हिउँदमा धुलाम्मे र बर्षातमा हिलाम्मे हुने गरेको काठेखोला गाउँपालिका-६ का अध्यक्ष बहृस्पति कँडेलले बताए ।
२०७० पछि यो सडक मध्यपहाडी लोकमार्गमा सूचिकृत छ । यहाँको खहरेदेखि घोडाबाँधे सम्मको झण्डै २० किमी खण्ड वर्षौदेखि अलपत्र छ । रुकुम पूर्व र पश्चिमदेखि रात्री बस समेत चल्ने लोकमार्ग सबै कालोपत्र छ । यहाँको २० किमी खण्ड भने धुलो र हिलोले सताउँदा स्थानीयले सबैभन्दा धेरै सास्ती भएको अध्यक्ष कँडेलले बताए ।
वडा नं १ को खहरे, वडा नं २ को अक्षेते, वडा नं ५ र ६ को पुरै बस्ती यो सडकको समस्या झेलिरहेका छन् । ‘हामीले न कहिले शुद्द खाना खाना पायौं, न गाईभैसीलाइ घाँस,ु कँडेलले भने, ‘अब हामीले सहन नसक्ने भयौं ।’
काठेखोला गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दा समेतले माघ २१ गतेदेखि सडक अवरुद्ध बनाउने चेतावनी दिएका छन् । लोकमार्ग आयोजना कार्यालयसँग दुइ बर्ष अघिदेखि यो चेतावनी दिएका उनीहरुले पटक(पटक एक घण्टा, दुइ घण्टा हुँदै ६ घण्टा सम्म सडक बन्द गर्दै आएका छन् ।
यसपटक भने सडक बनाउन अति नै लापरबाही भएको भन्दै उनीहरुले सडक पुरै बन्द गर्ने चेतावनी दिएका छन् । चारपटक म्याद थपेर पनि ठेकेदार कम्पनीले काम गरेको छैन, वडाध्यक्ष कँडेलले भने, जनता अब पनि सहेर बस्ने अवस्थामा छैनन् ।
सदरमुकाम बागलुङ बजारदेखि वडा नं ६ को सुल्डाँडा सम्मको १३ किमी सडक भारत सिद्दिसाई संयुक्त निर्माण कम्पनी र सुल्डाँदादेखि घोडाबाँधे सम्मको १२ किमी सडक सूर्य कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । सूर्य कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । रद्द भएको ठेक्का फेरि लाग्न सकेको छैन।
पहिलो खण्डको भारत सिद्दिसाइ कम्पनीको पनि अन्तिम म्याद सकिएको एक बर्ष कट्यो। २०७३ माघ १४ गतेको ठेक्काले २०७६ माघ १३ गते सक्नुपर्ने यो सडकमा ४ पटक म्याद थप गरिएको आयोजना प्रमुख कल्पना अधिकारीले बताइन् । गत बर्ष माघ १३ मा सकिएको म्यादपछि कंपनीले केही काम गरेपनि अलपत्र बनाएको हो । ‘कानून बमोजिमका सबै म्याद थप भएर पनि काम नभएपछि रद्द गरिसकेका छौं’ अधिकारीले भनिन्, ‘अब नयाँ ठेक्काको काम अगाडि बढेको छ ।’ अर्थ मन्त्रालयमा पुगेर फाइल रोकिएकोले ठेक्का लगाउन नसकिएको उनले बताइन् ।
स्थानीयले भने सँगैका अन्य धेरै आयोजनामा ठेक्का लागेकोले नियमवश यो काम रोकिएको आरोप लगाए । भारत सिद्दिसाइ कम्पनीका प्रतिनिधि राजु गौतमले भने काम गरेको भुक्तानी नपाएको बताए । यो सडकमा ७५ प्रतिशत प्रगति भएको समेत अधिकारीले बताइन् ।
यो सडक निर्माण पूरा नभएपछि यहाँबाट सञ्चालन हुने सवारी साधनको संख्या भने अधिक छ । धुलोले घाँसपात पुरिंदा गाई भैसी समेत बिरामी परेको स्थानीय टंक कँडेलले बताए । ‘गाईभैँसी बिरामी छन्, घाँस पराल खाएका छैनन्’ उनले भने, ‘दूध बेचेर घरखर्च गर्ने किसान समेत नोक्सानीमा परेका छन् ।’
एउटै वडाबाट २ करोड बढीको सुन्तला बेच्ने बिहुँबासी केही बर्षदेखि नोक्सानीमा परेको उनको भनाइ छ । बोटबाट बिक्री भएकोमा धुलोको कारण बजार पाउन नसकेको उनीहरुको गुनासो छ ।
श्वासप्रस्वास सम्बन्धी रोगले गाउँलेहरु बसाई सरेर हिड्न थालेको स्थानीय ज्ञानकुमारी श्रीषले गुनासो गरिन् । ‘धुलोले बस्न नसकेपछि घरहरु खाली भएका छन्’ श्रीषले भनिन्, ‘आयोजनाका कर्मचारी र ठेकेदार आएर सात दिन बसेर हेरुन कतिको सास्ती छ ।’ सित्तैमा दूध, घिउ र खाना खुवाएर राख्ने गाउँलेको घरमा आएर कर्मचारी र ठेकेदार सात दिन बसिदिन उनले आग्रह गरिन् । २० किमी सडकमा ३ सय ५० रुपैयाँ देखि ४ सय भाडा तिर्न बाध्य भएको समेत उनीहरुले गुनासो गरे । कान्तिपुरबाट