काठमाडौं। वाग्मती सफाइ महाअभियानको ४४७ औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। सफाइबाट उठाइएको फोहोर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ। महानगरपालिकाले फोहोर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो। महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ नदीका विभिन्न भागमा सफाइ गरिदै आएको छ। महाअभियान शुरु भएदेखि जाडो, गर्मी, वर्षाद्, चाडपर्व, प्राकृतिक विपत्तिजस्ता प्रतिकुल परिस्थिति आइपरे पनि सफाइलाई अभियानकर्मीले निरन्तरता दिदैँ आएका छन्।
महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ। अहिले काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक स्थल, चक्रपथका उत्तरी र पश्चिमी भेग गरी २५ स्थानमा सफाइ भइरहेको छ। हाल काठमाडौँ उपत्यका बाहिर वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर १०९ स्थानभन्दा बढी सफाइ अभियान चलेको अभियानकर्मीले जानकारी दिएका छन्।
नागरिकस्तरबाट शुरु भएको सफाइ अभियानले यो रुप लिँदा नदी सफाइकै क्षेत्रमा काम गर्न स्थापना भएका अधिकार सम्पन्न वाग्मती समितिलगायत निकायका काम प्रभावकारी नभएको भन्दै गत हप्ता अभियानकर्मीले ज्ञापन पत्र बुझाएका छन्। यसैगरी १४ अर्ब खर्च हुँदा पनि विसं २०५२ मा वाग्मतीलाई ढल मुक्त गर्न स्थापना भएको समितिले एक किमी नदीलाई पनि ढलमुक्त गर्न नसकेको भन्दै महाअभियानले आपत्ति जनाएको हो।
वाग्मतीका किनारका मनोहरा, रुद्रमती, कुपण्डोलको तल्लो क्षेत्र र विष्णुमतीको टङ्केश्वर क्षेत्रको सार्वजनिक जग्गामा व्यक्ति एवं व्यावसायिक संस्थालाई व्यवसाय गर्न सम्झौता गरी दिइएकामा महाअभियानले निष्पक्ष छानबिनको माग गरेको अभियानकर्मीले जानकारी दिएका छन्।
यसैगरी मनोहरा सफाइ अभियानको २६४ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ३२ क्षेत्रमा सफाइ गरी एक गाडी फोहोर व्यवस्थापन गरिएको छ भने हिजो विष्णुमतीका माथिल्लो र तल्लो भेग, रुद्रमती, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ।