तनहुँ। मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा पहिलोपटक कालोपत्रे सुरु भएको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्रे सुरु गरेको हो।
पश्चिम खण्डका इन्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलका अनुसार फेबु्रअरीको अन्तिमसम्म एकतर्फी रूपमा पाँच किलोमिटर खण्ड कालोपत्रे गर्ने लक्ष्य छ । उनले भने, ‘अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रेको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।’ पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्रे हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्रे गरिने पौडेलले जानकारी दिए ।
सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रेको कामलाई अगाडि बढाएको हो । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।
धुलो र हिलालेले आजित भएका स्थानीयवासी कालोपत्रे सुरु भएपछि आशावादी बनेको स्थानीय शंकर पन्तले बताए । उनले भने, ‘सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।’ उनले गुणस्तरीय काम गराउनका लागि आफूहरूले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे ।
मुग्लिन–पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्रे गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।
यता पूर्वी खण्डमा भने १९ दशमलव ५ किलोमिटर सडकखण्ड कालोपत्रे भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्रे सकिएको हो । मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए त्यसमध्ये ७।२ किलोमिटर खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ ।
पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको कामसमेत सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१।४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। कारोबार दैनिकबाट