धनकुटा। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको चतारा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर)को कालोपत्रे बजेट अभावका कारण प्रभावित भएको छ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो यो सडक १ सय ५५ किलोमिटर मात्रै छ ।
धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १२ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सुरु भइसकेको छ ।
आयोजना प्रमुख प्रदिप निरौलाका अनुसार पुर्वी पहाडको आर्थिक रणनीतिक महत्वको रुपमा हेरिएको कोरिडोरमा चार अर्ब १६ करोडमा कालोपत्रे गर्न २०७९ कात्तिकमा ठेक्का लागेको थियो । मुलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेवीले २ अर्ब ४० करोडमा र बाँकी खण्ड एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का लिएका छन् ।
कालोपत्रेको काम अघि बढिरहेको उक्त सडकमा मुलघाटदेखि पाँचथरसम्म यातायातका साधन समेत सञ्चालन हुँदै आएका छन् । पूर्वी पहाड र संघीय राजधानी काठमाडौं तथा भारत र चीनसम्म यो सडकले सिधा सम्पर्क जोड्ने हुँदा महत्वको रुपमा लिइएको छ । तर, आवश्यक बजेट विनियोजन हुन नसक्दा राष्ट्रिय गौरवको आयोजनाको निर्माण समेत चुनौतीपूर्ण बनेको छ ।
काम सकिन २०८२ साल कात्तिकसम्म समयसीमा रहेपनि आवश्यक बजेट विनियोजन हुन नसक्दा कालोपत्रेको काम प्रभावित बन्न सक्ने अवस्थामा पुगेको आयोजना प्रमुख निरौलाले बताए ।
आयोजनासँग विनियोजित रकम १८ करोड मात्र बाँकी रहेको उनले बताए । निर्माण व्यवसायीले काम गरेको २५ करोड रकम तिर्न बाँकी छ भने निर्माण व्यवसायीलाई काम गरिसकेको रकम भुक्तानी गर्न कठिनाई भएको जनाउँदै आयोजनाले सरकारसँग १ अर्ब २० करोड माग गरेको छ । तर, अर्थ मन्त्रालयले आवश्यक बजेट उपलब्ध गराउन नसकेको सम्बन्धित पक्षको गुनासो छ ।
उता निर्माण व्यवसायीले समेत आवश्यक बजेट उपलब्ध नभए कालोपत्रे कार्य प्रभावित बन्ने चेतावनी दिएका छन् । आवश्यक नगराए काम प्रभावित बन्न सक्ने निर्माण कम्पनि रौता क्षमादेवी जेवीका अजन दाहालले बताए । कान्तिपुरबाट