बिर्तामोड। निर्माण सम्झौता भएको तीन वर्ष बित्दा पनि झापाको बिर्तामोड–भद्रपुर सडक निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेक्का पाएको काठमाडौंको एमएस कन्टेक प्रालिले २०७७ माघ ६ गते बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
काठमाडौंको एमएस कन्टेक प्रालिले २०८० साल साउन ५ गते अर्थात् ३० महिनामा बिर्तामोड–भद्रपुर सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यस अवधिभित्र करिब ३० प्रतिशतमात्र काम सम्पन्न भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय दमकले आगामी फागुन ६ गतेसम्म म्याद थप गरेको हो ।
तर थपिएको म्यादभित्र समेत अहिलेसम्म करिब ३७ प्रतिशतमात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनले धौला पुलदेखि देउनियासम्मको करिब चार किलोमिटर सडक जसरी पनि निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको जानकारी दिए । बल्लतल्ल धौला पुलदेखि देउनियासम्मको सडकमा अबको १५ दिनपछि कालोपत्रको काम सुरु गरिने उनले बताए ।
देउनियादेखि पूर्वपट्टिको सडकखण्ड यस वर्ष निर्माण नहुने बताउँदै उनले बजेट अभावका कारण यस वर्ष देउनियादेखि चन्द्रगढीसम्मको सडक खण्ड निर्माण नहुने जनाए । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रालिलाई सडक डिभिजन दमकले पटकपटक स्पष्टीकरण सोधेको बताउँदै उनले जिम्मेवारी लिएका ठेकेदारले समयमै काम पूरा नगर्दा सबैले सास्ती बेहोर्नु परेको जनाए ।
त्यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सडक निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिए पनि जिम्मेवारी लिएका ठेकेदारले समयमै काम पूरा नगरेको उनको भनाइ छ । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलव ७ सय किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एमएस कन्टेक प्रालिले लिएको छ । भ्याटसहित ५८ करोड दुई लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
सडक निर्माण कम्पनीको तर्फबाट खटिएका साइट इन्जिनियर हरिशचन्द्र थापाले प्राविधिक कठिनाइका कारण काममा ढिलाइ भएको बताए । आगामी साउन मसान्तसम्ममा काम सम्पन्न गरिने भए पनि उक्त समयमा काम गर्न नसकिएको कम्पनीका कर्मचारी रामकुमार दङ्गालले स्वीकारे । सडकका पोल र खानेपानीका पाइपको व्यवस्थापन नहुँदा काम गर्न समस्या भएको उनको भनाइ छ ।
सम्झौतापश्चात तीन महिना कोरोनाका कारण काम गर्न नसकिएको साथै निरन्तर मूल्यवृद्धिका कारण ठूलो आर्थिक भार बेहोर्नुपरेको उनको भनाइ छ । झापा जिल्लाका प्रशासनिक कार्यालय रहेको चन्द्रगढी जाने मुख्य सडक बिर्तामोड–भद्रपुर सडक भएकाले दैनिक सयौंको संखयामा सवारीसाधन सञ्चालन हुने उक्त सडक भत्किएर खाल्डैखाल्डामा परिणत हुँदा दुर्घटनाको जोखिम बढेर गएको छ । कारोबार दैनिकबाट