पाँचथर। निर्माणाधीन अवस्थामा रहेको तमोर करिडोर निर्माणकार्य तीव्र पारिएको छ । हाल ग्राभेल सडकलाई पिच बनाउने कार्य भइरहेको छ । यो सडक निर्माण सम्पन्न भएपछि पाँचथर र तेह्रथुमको सिमाना भई बग्ने तमोर नदीको किनारैकिनार अब सिधा सडक सञ्जालबाट तराई जोडिने भएको छ ।
यस सडकबाट पूर्वी पहाडलाई तराई हुँदै काठमाडौंसँग जोड्ने द्रुत सडक मार्गको रूपमा तमोर करिडोरको निर्माणकार्य अगाडि बढाइएको हो । पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट सहज रूपमा तराई हुँदै संघीय राजधानी काठमाडौंसम्म सहजरूपमा पुग्न सकिनेछ । करिडोरले पहाड र तराईलाई जोड्दै यहाँको जीविकोपाजर्न र आर्थिक कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
दुई खण्डमा ठेक्का लागेको धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोक जोड्ने तमोर करिडोरको ११० किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । सुनसरीको चतरादेखि मूलघाट हुँदै गणेश चोक जोड्ने १५८ किलोमिटरमध्ये मूलघाट–गणेश चोक खण्डको कालोपत्रे गर्ने गरी ठेक्का लागेको थियो । मेची र कोशी राजमार्गलाई छुने गरी कालोपत्रेको काम भइरहेको हो ।
पूर्वी पहाडको ‘लाइफ लाइन’को रूपमा लिइएको सडक कालोपत्रे गर्ने काम अघि बढेपछि यो क्षेत्रका बासिन्दा हर्षित छन् । ट्रयाक खुलेसँगै सडक आसपासका क्षेत्रमा चहलपहल बढ्दै गएको छ । तराईबाट पहाडको धनकुटा, पाँचथर, तेह्रथमु र ताप्लेजुङका विभिन्न क्षेत्रबाट सजिलै पुग्न सकिने छोटो सडक भएकाले प्राथमिकतामा छ । हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख प्रदिप निरौलाले जानकारी दिए । कालोपत्रेको काम धमाधम भए पनि आयोजनमा बजेटको अभाव हुने हो कि भन्ने चिन्ता छ ।
चालु आर्थिक वर्षमा ५८ करोड बजेटमात्र भएकाले काम प्रभावित हुने हो कि भन्ने चिन्ता हुन थालेको छ । थप एक अर्ब २० करोड बजेट माग गरिएको आयोजना प्रमुख निरौलाले बताए । तीन अर्ब ६४ करोड लागतको ठेक्का सम्झौता भई काम अघि बढेको थियो । ६६ किलोमिटर रौतहा क्षमादेवी जेभीले दुई अर्ब ४० करोडमा र बाँकी खण्डमा एफएक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता भई काम अघि बढाइएको थियो ।
‘स्ट्रक्चरसहित नालीको काम गरिरहेका छौँ । दुवै खण्ड गरी ३५ किलोमिटर नालीको काम सम्पन्न भइसकेको छ । यो आर्थिक वर्षसम्ममा ३५ किलोमिटर कालोपत्रे सम्पन्न गर्ने लक्ष लिएर काम गरिरहेका छौं,’ निरौलाले भने, ‘हाम्रो लागि न्यून बजेटमात्र विनियोजित भएको छ । त्योमध्ये तेस्रो त्रैमासिकसम्मको खर्च गर्ने अधिकार भएको बजेट सकियो । ठेकेदारले भुक्तानीका लागि बिल पेस गरेको २० करोड रकम भुक्तानी गर्न सकिएको छैन । बजेटका कारण प्रभावित भयो भनेमात्र हो अहिलेसम्मको काम सन्तोषजनक छ ।’
विभिन्न ठाँउमा विकास बजेट खर्च नभइरहेको बजेट महत्वका यस्ता आयोजनामा रकमान्तर गरी कामलाई तीव्रता दिनुपर्ने स्थानीयको भनाइ छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका बासिन्दालाई धरान, प्रदेश राजधानी विराटनगर तथा काठमाडौं लगायतका ठाउँको यात्राका लागि दूरी छोटिएको छ । सडक बनेपछि यताबाट धेरै गाडी कुदिरहेको पाँचथर कुम्मायकका धनप्रसाद सम्बाहाम्फेले बताए । कारोबार दैनिकबाट