काठमाडौं। नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ का बारा र पर्सा औद्योगिक करिडोरमा पाँच वर्षभित्रमा दुई हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउने भएको छ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ,वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले व्यापकरूपमा विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको जानकारी गराएको छ। हाल प्राधिकरणले मुख्य रुपमा उद्योगहरुलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ।
यसैगरी सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ। काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकाले उद्योगहरुलाई थप विद्युत आपूर्ति दिन सकिने प्राधिकरणले जनाएको छ। त्यसैगरी निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना रहेको छ भने पर्साको पोखरियामा सब स्टेसन निर्माण गर्न लागिएको छ।
प्राधिकरणले विद्युत खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। त्यस क्षेत्रमा सञ्चालित स्टील उद्योगहरुले क्षमता विस्तारका लागि थप विद्युतको माग गर्दै आएका छन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुको अनुगमन भ्रमण र उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरी विद्युत मागको अहिलेको अवस्था र भविश्यको अवश्यकताका विषयमा जानकारी लिएका छन्। सञ्चालनमा रहेका सबस्टेसन र उद्योगहरुको भ्रमण गरेपछि घिसिङले उद्योगहरुलाई अहिलेकै पूर्वाधारबाट २०० मेगावाटसम्म थप विद्युत दिन सकिने देखिएको बताएका छन्।
बारा–पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिंदै उनले विद्युतको माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। उद्योगहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले हाल चालिएका कदमको नतिजा अव देखिन थाल्ने जानकारी दिएका छन्।
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत दिन सक्ने देखिएको छ। यसैगर िअशोक स्टीललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ। जगदम्बा स्टीलले ३० मेगावाट थप विद्युत माग गरेको छ। उक्त उद्योगलाई दुई महिनाभित्रमा विद्युत आपूर्ति दिन सकिने जनाइएको छ। यसैगरी हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ। सो उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेसनबाट तत्काल विद्युत दिन सकिने छ। बाराको सिमरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत दिन सकिने छ। सेजमा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी लाइन विस्तार तथा सबस्टेसन निर्माण गर्न लागिएको छ।