दाङ। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा प्रदेश पूर्वाधार निर्माणका कामले तीव्रता पाएको छ। सबैले चासो लिएको प्रदेशसभा भवन निर्माणको कामले हाल तीव्रता पाएको हो।
पछिल्लोपटक मंसिर मसान्तसम्ममा निर्माणको काम सक्ने गरी सम्झौता भएको प्रदेश सभा भवन निर्माण कम्पनीले कामलाई तीव्रता दिएको प्राधिकरणले जानकारी दिएको छ। ५ करोड २१ लाख लागतमा निर्माण हुन लागेको प्रदेश सभा भवन निर्माणको काम ड्रागन बस्नेत जेभिले लिएको र हाल रातदिन काम भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका छन्।
यत्तिबेला निर्माणाधीन दुई तले भवनको पहिलो तला ढलान गर्नेदेखि सभा स्थलमा कुर्सी राख्ने मञ्च निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष नै पूरा हुने भनेको भवन निर्माण व्यवसायीको लापरवाहीका कारण ढिलाइ भएको हो। प्रदेशमा नयाँ सरकार फेरिएपछि पुन निर्माणको काममा ताकेता भएपछि निर्माणलाई तीव्रता दिन थालिएको हो।
यसैगरी करिब एक वर्षभित्र निर्माण हुन नसकेको प्रदेशसभा भवन निर्माणको काम पेटी ठेकेदारबाट मुख्य ठेकेदारले आफैं निर्माणको जिम्मा लिएपछि भवन निर्माणले अहिले गति लिएको छ। राती र दिउँसो गरी दुई सिफ्टमा निर्माणको काम भइरहेको हुँदा हाल ६० प्रतिशतभन्दा धेरै भवन निर्माणको काम भएको विकास प्राधिकरणले जनाएको छ।
मंसिर महिनाभित्र प्रदेशसभा भवन निर्माण गरेर हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले जनाएका छन्।लुम्बिनी प्रदेशको पहिचान झल्कने गरी भवनको डिजाइनमा केही परिवर्तन गरेर प्रदेशसभा भवन निर्माणको काम भइरहेको उनले जानकारी दिएका छन्। पहिलेको भन्दा केही फरक तरिकाले भवनको बाहिरी सजावट निर्माण गर्नु पर्ने भएकोले हाल त्यसका लागि प्रदेश सरकारको निर्णय कुरिरहेको पनि जानकारी दिएका छन्।
उनले सरकारको निर्णय आयो भने काम पूरा गर्न २० देखि ३० दिनसम्म समय थप लाग्ने बताएका छन्। सम्झौता अनुसार प्रदेशसभा भवन निर्माणको काम ४५ दिनमा सक्ने गरी निर्माण सुरु भएको थियो। अन्य पूर्वाधारको काम राजधानी पूर्वाधार निर्माण गुरु योजना अनुसार अघि बढाइने जनाइएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले अन्य पूर्वाधारका लागि अब प्रक्रिया थालिएको जानकारी दिएका छन्।